जेफ्री एपस्टाइनसँगको सम्बन्धबारे ट्रम्पको दाबी- ‘मेरो उनीसँग कुनै लेनादेना छैन’
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी तथा मानव तस्कर जेफ्री एपस्टाइनसँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरेका छन्।
मंगलबार ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले एपस्टाइनसँग आफ्नो कुनै ‘लेनादेना’ नरहेको दाबी गरेका हुन्।
हालै अमेरिकी न्याय विभागले एपस्टाइनसँग सम्बन्धित ३० लाखभन्दा बढी दस्तावेजहरू सार्वजनिक गरेको छ। जसमा राजनीति, आर्थिक र व्यापारिक क्षेत्रका धेरै प्रभावशाली व्यक्तिहरूको नाम जोडिएको छ।
यसै सन्दर्भमा ट्रम्पले आफ्नो प्रतिक्रिया दिएका हुन्।
ट्रम्पले हालै सार्वजनिक भएका फाइलहरू आफूविरुद्धको षड्यन्त्र भएको बताए। उनले आफूलाई राजनीतिक रूपमा क्षति पुर्याउन र चुनाव हराउने उद्देश्यले यस्तो गरिएको आरोप लगाएका छन्।
ग्र्यामी अवार्डका कार्यक्रम सञ्चालक ट्रेभर नोआले ट्रम्प एपस्टाइनको निजी टापुमा गएको भनी गरेको टिप्पणीको उनले खण्डन गरे। ट्रम्पले भने, ‘मैले त्यस्तो गरेको छैन। मेरो जेफ्री एपस्टाइनसँग कुनै सम्बन्ध छैन।’
उनले लेखक माइकल वोल्फ र एपस्टाइन मिलेर आफूलाई चुनाव हराउने योजना बनाएको दाबी गरे। यसले पनि आफू एपस्टाइनसँग नमिलेको पुष्टि हुने उनको तर्क छ।
ट्रम्पले डेमोक्र्याटिक पार्टीले यो मुद्दा उचालेको भए पनि अहिले यो उनीहरूकै लागि प्रत्युत्पादक भएको बताए। सार्वजनिक फाइलहरूमा डेमोक्र्याटहरूकै नाम आइरहेको र उनीहरू नै एपस्टाइनसँगको साठगाँठमा रहेको ट्रम्पको आरोप छ।
यसअघि आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै ट्रम्पले आफू एपस्टाइनको नजिक कहिल्यै नभएको र उनको टापुमा कहिल्यै नगएको दाबी गरेका थिए।
माघ २०, २०८२ मंगलबार ०९:४४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।