स्कटल्यान्ड र आयरल्यान्डपछि नेपालकै समूहमा रहेको इटालीसँग क्यानडा पनि स्तब्ध
काठमाडौं : पहिलो पटक टी-२० विश्वकप खेल्न लागेको इटालीले आफ्नो शानदार लयलाई निरन्तरता दिँदै वार्मअप खेलमा पूर्व विश्वकप खेलिसकेको राष्ट्र क्यानडालाई पराजित गरेको छ।
सोमबार चेन्नईमा सम्पन्न खेलमा इटालीले क्यानडालाई १० रनले स्तब्ध बनाउँदै विश्वकपमा आफ्नो उपस्थितिलाई बलियो दाबेदारका रूपमा प्रस्तुत गरेको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इटालीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५६ रनको सम्मानजनक योगफल तयार पारेको थियो। इटालीका लागि ‘प्लेयर अफ द म्याच’ घोषित जेजे स्मट्सले ३७ बलमा ४९ रनको महत्त्वपूर्ण पारी खेले।
त्यस्तै, ह्यारी मनेन्टीले २४ बलमा ३३ रनको अविजित योगदान दिँदा ओपनरद्वय जस्टिन मोस्का र एन्थोनी मोस्काले समान २२-२२ रन बनाए।
१५७ रनको लक्ष्य पछ्याएको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो। क्यानडाका लागि कप्तान दिलप्रित बाजवाले ३७ र निकोलस किर्टनले ३३ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।
इटालीका बलरहरूले कसिलो बलिङ गर्दै क्यानडालाई रोक्न सफल भए।
ठूला टोलीलाई लगातार झड्का
इटालीको यो जित आकस्मिक भने होइन। विश्वकपको तयारीका क्रममा इटालीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।
यसअघिका खेलहरूमा इटालीले टेस्ट मान्यता प्राप्त राष्ट्र आयरल्यान्डलाई ४ विकेटले र विश्वकप छनोटमा एसोसिएट राष्ट्रहरूमा बलियो मानिने स्कटल्यान्डलाई १२ रनले पराजित गरेको थियो।
त्यही कारणले स्कटल्यान्डले विश्वकप गुमाउने भएको थियो। तर अन्तिम समयमा बंगलादेशले भारत गएर खेल्न इन्कार गरेपछि बंगलादेशको स्थानमा स्कटल्यान्डले मौका पाएको हो।
नेपालका लागि सचेत हुने संकेत
इटालीको यो प्रदर्शनले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पनि सचेत रहन सन्देश दिएको छ। जारी टी-२० विश्वकपमा नेपाल र इटाली एउटै समूह ‘सी’ मा रहेका छन्।
कागजमा इटालीलाई यस समूहको तुलनात्मक रूपमा कमजोर टोली मानिए पनि, मैदानमा उनीहरूले देखाएको जुझारुपन र ठूला टोलीविरुद्धको नतिजाले नेपालले उनीहरूलाई हल्का रूपमा लिन नहुने देखिएको छ।
आयरल्यान्ड, स्कटल्यान्ड अनि अब क्यानडाजस्ता अनुभवी टोलीलाई हराइसकेको इटालीविरुद्ध खेल्दा नेपालले विशेष रणनीति र सावधानी अपनाउनुपर्ने देखिन्छ।
इटालीको यो ‘सरप्राइज प्याकेज’ वाला प्रदर्शनले समूह ‘सी’ को प्रतिस्पर्धालाई थप रोमाञ्चक र चुनौतीपूर्ण बनाएको छ।
माघ २०, २०८२ मंगलबार ०८:०१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।