अनलाइन सुरक्षा कानून कार्यान्वयनः चार लाख १५ हजार प्रयोगकर्ताहरुको स्न्यापच्याट खाता बन्द
एजेन्सी : अष्ट्रेलियामा १६ वर्ष मुनिका चार लाख १५ हजार प्रयोगकर्ताहरुको स्न्यापच्याट खाता बन्द गरिएको छ। १६ वर्ष मुनिका प्रयोगकर्ताहरुको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनअनुसार खाता बन्द गरेको कम्पनीले जनाएको छ।
तर कम्पनीले केही किशोरहरूले उमेर प्रमाणिकरण प्रणाली छल्न सक्ने चेतावनी दिएको छ। थप सुरक्षा उपाय अन्तर्गत कम्पनीले एप्लिकेसन मार्फत प्रयोगकर्ताको उमेर जाँच गर्न बाध्य गर्न अष्ट्रेलियाली निकायहरूलाई आग्रह समेत गरेको छ।
जनवरी अन्त्यसम्म, १६ वर्ष मुनिका चार लाख १५ हजार खाता बन्द गरेको कम्पनीले दैनिक रूपमा अझ धेरै खाता बन्द गर्ने जनाएको छ।
तर कम्पनीले कानूनमा ‘महत्त्वपूर्ण कमजोरी’ रहेको र उमेर अनुमान प्रणालीले दुई–तीन वर्षको दायरामा मात्र सही नतिजा दिन सक्ने बताएको छ । यसको अर्थ, केही १६ वर्ष मुनिका किशोरले सुरक्षा प्रणाली छल्न सक्छन् भने केही १६ वर्षभन्दा बढी उमेरका प्रयोगकर्ताले अनावश्यक रूपमा पहुँच गुमाउन सक्छन्।
स्न्यापच्याट, मेटा, टिकटक र युट्युब जस्ता प्लेटफर्महरूले नयाँ कानूनअनुसार नाबालिग प्रयोगकर्ताको खाता रोक्नुपर्छ। उक्त कानून १० डिसेम्बर सन् २०२५ मा लागू भएको थियो।
कम्पनीहरूले कानून पालना नगरेमा करिब ४९ करोड ५० लाख अष्ट्रेलियन डलर जरिवाना तिर्नुपर्ने छ।
अष्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले गत महिनामा प्रविधि कम्पनीहरूले चार लाख ७० हजार खाता पहिले नै ब्लक गरेको बताएको थियो।
स्न्यापच्याटले मेटासँग मिलेर अष्ट्रेलियालाई एप्लिकेसन पसलमा उमेर जाँच अनिवार्य गर्न सुझाव दिएको छ । कम्पनीका अनुसार केन्द्रित प्रमाणिकरण प्रणालीले सुरक्षा थप मजबुत बनाउनेछ।
कम्पनीले पूर्ण प्रतिबन्ध उपयुक्त उपाय नभएको र आफ्नो प्लेटफर्मलाई सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा राख्नु आवश्यक नभएको बताएको छ। स्न्यापच्याटले भनेको छ, “हाम्रो एप मुख्यतः युवा प्रयोगकर्तालाई नजिकका साथी र परिवारसँग जडित राख्न प्रयोग हुन्छ। ती सम्बन्ध काट्दा उनीहरू सुरक्षित, खुशी वा फाइदाजनक हुने छैनन्।”
माघ १९, २०८२ सोमबार १३:४८:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।