इरान ‘टसको मस’ नभएपछि ट्रम्पले भने- ‘युद्ध होइन, कूटनीतिक सम्झौता नै प्राथमिकता’

इरान ‘टसको मस’ नभएपछि ट्रम्पले भने- ‘युद्ध होइन, कूटनीतिक सम्झौता नै प्राथमिकता’

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको कूटनीतिक सम्झौता आफ्नो प्राथमिकतामा रहेको बताएका छन्।

इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईले अमेरिकाले युद्ध सुरू गरे त्यसले ‘क्षेत्रीय युद्ध’को रूप लिने चेतावनी दिएको केही घण्टापछि ट्रम्पको यस्तो प्रतिक्रिया आएको हो।

फ्लोरिडास्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँग कूटनीतिक सम्झौता हुनेमा आफू आशावादी रहेको बताए।

उनले मध्यपूर्व क्षेत्रमा अमेरिकाले शक्तिशाली सैन्य साधन तैनाथ गरे पनि आफ्नो प्राथमिकता कूटनीतिक समाधान नै रहेको र सम्झौता नभए खामेनेईको चेतावनी सही थियो कि थिएन भन्ने कुरा स्पष्ट हुने बताए।

‘हाम्रा विश्वकै सबैभन्दा शक्तिशाली जहाजहरू त्यहाँ नजिकै छन्। केही दिनभित्रै सम्झौता हुन्छ भन्ने आशा छ। यदि सम्झौता भएन भने, उनले भनेको कुरा सही थियो कि थिएन, त्यो हामीले थाहा पाउनेछौँ’, ट्रम्पले भने।

यसअघि इरानका सर्वोच्च नेता खामेनेईले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाले युद्ध सुरु गरे त्यसले सीमित रूप नलिई सम्पूर्ण क्षेत्र नै युद्धमा फस्ने चेतावनी दिएका थिए।

युद्धपोत र लडाकु विमानको धम्कीले इरानी जनता नडराउने भन्दै उनले इरानमाथि आक्रमण भए कडा जवाफ दिने चेतावनी दिएका छन्।

खामेनेईले इरान युद्धको सुरुवातकर्ता नभए पनि कुनै पनि आक्रमणको निर्णायक जवाफ दिने बताए। उनले अमेरिका इरानका तेल, ग्यास, खनिज स्रोत र भौगोलिक अवस्थाका कारण प्रभुत्व जमाउन खोजिरहेको आरोप समेत लगाए।

विगतमा अमेरिका इरानको राजनीति, सुरक्षा र स्रोतसाधनमाथि हाबी रहेको तर अहिले आफ्नो नियन्त्रण कमजोर भएपछि पुनः प्रभाव जमाउने प्रयास भइरहेको उनको दाबी छ।

यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले अमेरिका–इरान वार्ताको तयारी अघि बढिरहेको बताएका छन्।

सामाजिक सञ्जाल एक्समा उनले सञ्चारमाध्यमले सिर्जना गरेको हल्लाभन्दा फरक रूपमा वार्ताका संरचनात्मक तयारीहरू अगाडि बढिरहेको उल्लेख गरेका छन्, यद्यपि वार्ताको ढाँचाबारे कुनै विवरण दिएका छैनन्।

अमेरिकाले हाल यूएसएस अब्राहम लिंकनको नेतृत्वमा ठूलो नौसैनिक समूह इरान नजिक तैनाथ गरेको छ। ट्रम्पले यसअघि पनि इरान वार्तामा आउन इच्छुक रहेको दाबी गर्दै आणविक हतियारसम्बन्धी छलफलका लागि समयसीमा तोकिएको बताएका थिए, तर सो समयसीमा सार्वजनिक गरेका छैनन्।

अमेरिका र इरानबीच तनाव चर्किँदै गए पनि दुवै पक्षले कूटनीतिक समाधानको सम्भावना पूर्ण रूपमा नकारेका छैनन्।

माघ १९, २०८२ सोमबार १२:४८:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।