कुरियर पास गर्न घुस माग्ने भन्सार र हुलाकका तीन कर्मचारी अख्तियारको नियन्त्रणमा, २३ थान मोबाइल बरामद

कुरियर पास गर्न घुस माग्ने भन्सार र हुलाकका तीन कर्मचारी अख्तियारको नियन्त्रणमा, २३ थान मोबाइल बरामद

काठमाडौं : विदेशमा कुरियरमार्फत सामान पठाउँदा सेवाग्राहीसँग घुस मागेको आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय र गोश्वारा हुलाक कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिएको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालय, वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालयको पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई नियन्त्रणमा लिएको हो।

कुरियरमार्फत सामान विदेश पठाउने क्रममा कर्मचारीहरूले सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको गोप्य सूचना र उजुरी अख्तियारमा पुगेको थियो। सोही उजुरीका आधारमा आयोगको टोलीले माघ १८ गते डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा छापा मारेको थियो।

अख्तियारका अनुसार कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबुलको घर्रा र निजको साथबाट घुस बापतको १० हजार रुपैयाँसहित स्रोत नखुलेको कुल १ लाख ४६ हजार ४२० रुपैयाँ फेला परेको छ।

त्यसैगरी, नायव सुब्बा छवि प्रसाद रिजालको साथबाट घुस बापत लिइसकेको २० हजार र स्रोत नखुलेको १८ हजार ८४८ गरी कुल ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको छ।

छापा मार्ने क्रममा टोलीले विभिन्न व्यक्तिहरूका २३ थान मोबाइल सेट र स्रोत नखुलेको अन्य रकमसहित कुल २ लाख ६८ हजार २८८ रुपैयाँ बरामद गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।

पक्राउ परेका तीनै जना कर्मचारीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारले जनाएको छ।

माघ १९, २०८२ सोमबार १२:२५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।