चितवनमा एकैघरका दाजुभाइले पाए पहिलाेपटक आमाको नामबाट नागरिकता

चितवनमा एकैघरका दाजुभाइले पाए पहिलाेपटक आमाको नामबाट नागरिकता

चितवन : चितवनमा पहिलाेपटक दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन्। खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमा निशा महतो (चौधरी) को नामबाट नागरिकता पाएका हुन्।

चाैधरी दाजुभाइलाई प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता प्रदान गरे।

महतो आँखा नदेख्ने भएकाले कर्मचारीको सक्रियतामा दाजुभाइलाई नागरिकता दिइएको थियाे। बाबुको सम्पर्क नभएकाले आमाले रेखदेख गर्दै आएका छोराछोरीलाई पहिलो पटक नागरिकता दिन पाउँदा आफू र आफ्ना कर्मचारीको टोली हर्षित भएको अर्यालले बताए।

नागरिकता दिँदै उनले भने, “आमाको ख्याल गर्नु। आफ्नो लक्ष्यबाट पछि नहट्नु।”

नागरिकता पाएपछि दुई दाजुभाइले आमाको नामबाट नागरिकता पाउनु आफ्ना लागि महत्वपूर्ण क्षण भएको बताए । साथै अब आँफुहरु पनि नेपाली नागरिक भएको भन्दै खुसी व्यक्त गरे।

उनीहरुले क्रमशः २४ र २० वर्षको उमेरमा नागरिकता पाएका हुन्।

नागरिकता ऐन र नियमावलीमा पछिल्लो संशोधनपछि जिल्लामा पहिलो पटक आमाको नामबाट नागरिकता प्रदान गरिएको हो।

माघ १९, २०८२ सोमबार ११:१७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।