समयमा भुक्तानी नपाउँदा बाँकेका साना निर्माण व्यवसायी पलायन हुँदै

समयमा भुक्तानी नपाउँदा बाँकेका साना निर्माण व्यवसायी पलायन हुँदै

बाँके : ठेक्का सम्झौता अनुसार काम सम्पन्न भइसक्दा समेत समयमै भुक्तानी नपाउँदा बाँकेका साना निर्माण व्यवसायी पेसाबाट पलायन हुन थालेका छन्।

जिल्लामा आठदेखि १० अर्ब बराबरको विकास निर्माणका काम भइरहेका छन्। तर, ठेक्का सम्झौता अनुसार काम सम्पन्न भएपछि पनि सम्बन्धित निकायले निकासा नदिँदा निर्माण क्षेत्र धराशायी बन्दै गएको छ।

जिल्लामा सङ्घमा आवद्ध ६५३ निर्माण व्यवसायीमध्ये १० प्रतिशत निर्माण व्यवसायी काम गर्न नसक्ने स्थितिमा पुगेको बाँके निर्माण व्यवसायी सङ्घका अध्यक्ष लीलाराज उपाध्यायले बताए। साथै उनले साना निर्माण व्यवसायीको विषयमा राज्यले सोच्नुपर्ने समय आएको उल्लेख गरे।

“निर्माण व्यवसायीले समयमानै कर्जा तिर्न नसक्दा पर्याप्त मात्रामा काम गर्नको लागि अहसज भएको छ”,उनले भने ,“हामीले हाम्रो समस्याको बारेमा मन्त्रालयलदेखि अन्य सरकारी निकायहरुमा भेटघाट गर्दा समस्याको समाधान गर्ने आश्वासन दिए पनि भुक्तानी भएको छैन यसमा सरकारले तत्काल ध्यान दिन आवश्यक छ।”

विकासको काम गर्ने व्यवसायी आफैँ घरबार छोडेर पलायन हुनुपर्ने अवस्था आउनु राष्ट्रिय अर्थतन्त्रका लागि सुखद सङ्केत नभएको अध्यक्ष उपाध्यायको भनाइ छ।

“निर्माण व्यवसायीले केवल आफ्नै पुँजी मात्र होइन, बैंक र वित्तीय संस्थाबाट ऋण लिएर विकासका योजना अगाडि बढाउँछन् तर काम सकिएपछि पनि समयमा निकासी नहुँदा उनीहरू दोहोरो मारमा परेका छन्”, अध्यक्ष उपाध्यायले भने,“समयमा भुक्तानी नपाउँदा बैंकको ब्याज र किस्ता तिर्न नसकी व्यवसायी कालोसूचीमा पर्ने जोखिम बढेको छ।”

बजेट अभावले निर्माणको काम रोकिएका अवस्थामा पनि ढिलासुस्ती भएको जनाउँदै सरकारले व्यवसायीलाई नै कारबाहीको दायरामा ल्याउने गरेको उपाध्यायको गुनासो छ।

माघ १९, २०८२ सोमबार १०:५९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।