‘काठमाडौं घुम्न आऊ’ भन्दै १५ वर्षीया ‘रमा’लाई टोखाको खाजाघरमा यौन धन्दामा लगाउनेविरुद्ध मुद्दा
काठमाडौं : गरिबी र अभावका बीच हुर्किएकी एक किशोरीका लागि राजधानी काठमाडौं ‘सपनाको शहर’ थियो।
कक्षा ९ मा पढ्दापढ्दै पढाइ छाडेर कामको खोजीमा भौँतारिएकी ती १५ वर्षीया किशोरीले सोचेकी थिइन्- काठमाडौं पुगेपछि जीवन बदलिनेछ।
तर, त्यही सपना देखाएर उनलाई काठमाडौंको टोखास्थित एक अँध्यारो खाजाघरमा पुर्याइयो, जहाँ उनीमाथि यौन दुर्व्यवहार भयो।
मानव तस्करको जालोमा फसेर बन्धक बनाइएकी रमा (परिवर्तित नाम)लाई नेपाल प्रहरीले उद्धार गरेर अहिले माइतीघरको संरक्षणमा छिन्।
फेसबुकको चिनजान र काठमाडौंको निम्तो
घटनाको सुरुवात सुदूरपश्चिमको धनगढीबाट हुन्छ। रमाको चिनजान फेसबुकमार्फत स्थानीय एक साथीसँग हुन्छ। ती साथीकी आफन्त ४२ वर्षीया सपना चौधरी(सुशीला) काठमाडौंको टोखा नगरपालिका-९ मा ‘चौधरी खाजाघर’ सञ्चालन गरेर बसेकी थिइन्।
आर्थिक अवस्था कमजोर भएको र कामको खोजीमा रहेको थाहा पाएपछि सपना चौधरीले रमासँगै उनको साथीलाई ‘काठमाडौं घुम्न आऊ, रमाइलो हुन्छ’ भन्दै प्रलोभन देखाइन्। ‘मसँग पैसा छैन’ भन्दा सपनाले ‘बसको टिकट म नै काटिदिन्छु, यहाँ आएपछि सबै व्यवस्था म गर्छु’ भन्दै आश्वस्त पारिन्।
मिति २०८२ कात्तिक २० गते धनगढीबाट सपनाले नै काटेको टिकटमा चढेर ती रमा र उनको साथी काठमाडौं आए। कात्तिक २१ गते नयाँ बसपार्कमा ओर्लिंदा उनीहरूलाई लिन सपना आफैँ पुगेकी थिइन्।
सुरुमा उनीहरूलाई बसपार्क नजिकैको गेस्ट हाउसमा राखियो। तर, केही दिनमै सपनाको व्यवहारमा परिवर्तन आयो। कात्तिक २५ गतेदेखि उनले रमा र उनको साथीलाई आफ्नो खाजाघरमा बोलाएर काममा लगाउन थालिन्।
खाजाघरभित्रको छुट्टै संसार
सपना चौधरीको योजना रमा र उनको साथीलाई घुमाउने थिएन, बरु आफ्नो खाजाघरमा आउने ग्राहकहरूलाई रिझाउन प्रयोग गर्नु थियो।
अभियोग पत्रका अनुसार, सपनाले रमा र उनको साथीलाई खाजाघरमा आएका ग्राहकहरूसँग बसेर जाँड-रक्सी खान बाध्य पारिन्। ग्राहकले जति धेरै रक्सी पिए, बिल उति नै बढ्ने भएकाले उनले रमालाई ‘ग्राहकलाई खुसी पार्न’ दबाब दिइन्।
रक्सीले मातेका ग्राहकहरूले अभद्र व्यवहार गर्दा पनि प्रतिकार गर्ने अनुमति रमालाई थिएन। उल्टै सपनाले डर, त्रास र धम्की दिँदै बन्धकजस्तै बनाइन्।
घटनाले उग्र रूप लिएको दिन थियो- २०८२ कात्तिक २८ गते।
त्यस दिन सपना चौधरीले रमाको इच्छाविपरीत एक अपरिचित ग्राहकसँग शारीरिक सम्पर्क राख्न बाध्य पारिन्।
किशोरीले इन्कार गर्दा सपनाले ‘मैले पैसा लिइसकेकी छु, जानैपर्छ’ भन्दै गालीगलौज र डरत्रास देखाइन्। अन्ततः उनलाई खाजाघरभित्रको कोठामा हुलियो र जबर्जस्ती वेश्यावृत्तिमा लगाइयो।
प्रहरीको छापा र उद्धार
सोही दिन साँझ प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले उक्त खाजाघरमा छापा मार्यो। शंकास्पद गतिविधि देखेपछि प्रहरीले सोधपुछ गर्दा रमा र उनकी साथी त्यहाँ बन्धकजस्तै अवस्थामा भेटिए। प्रहरीले उनीहरूलाई तत्काल उद्धार गरी माइती नेपालको संरक्षणमा पठायो।
उद्धारपछि गरिएको स्वास्थ्य परीक्षणमा पीडित किशोरीको हाइनम टियर अर्थात योनीको झिल्ली च्यातिएको देखिएको छ, जसले उनीमाथि भएको यौन शोषणलाई चिकित्सकीय रूपमा पनि पुष्टि गरेको छ।
जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेस गरेको अभियोग पत्रमा पीडितको उमेर घटनाको समयमा १५ वर्ष ९ महिना १८ दिन मात्र रहेको उल्लेख छ।
पक्राउ परेकी प्रतिवादी सपना चौधरीले भने अदालत र प्रहरीसमक्ष आफ्नो कसुर अस्वीकार गरेकी छिन्। उनले बयानमा भनेकी छन्, ‘मैले उनीहरूलाई काममा लगाएको थिइनँ, उनीहरू आफैँ ग्राहकसँग रक्सी खान्थे र चुरोट पिउँथे। मैले वेश्यावृत्तिमा लगाएको छैन।’
यद्यपि, घरधनी र प्रत्यक्षदर्शीहरूको बयानले सपनाको दाबीलाई झुटो सावित गरेको छ।
घरधनी गुरुङका अनुसार, उनले पहिले प्रेम बहादुर बोहरालाई खाजाघर भाडामा दिएका थिए, पछि सपनाले सो खाजाघर किनेर सञ्चालन गर्दै आएकी थिइन्। खाजाघरमा अनैतिक क्रियाकलाप भइरहेको सुइँको पाएको अवस्थामा प्रहरीले छापा मारेको थियो।
प्रहरी अनुसन्धान, पीडितको बयान, स्वास्थ्य परीक्षण प्रतिवेदन र मौकामा कागज गर्ने व्यक्तिहरूको भनाइलाई आधार मान्दै सरकारी वकिल कार्यालयले सपना चौधरीविरुद्ध ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ बमोजिम मुद्दा दायर गरेको छ।
काठमाडौं जिल्ला अदालतमा दायर गरिएको अभियोग पत्रमा प्रतिवादी सपना चौधरीलाई हदैसम्मको कारबाहीको माग गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसार ऐनको दफा ३(१) र ४(२)(ख) बमोजिम कसुर गरेको अभियोगमा दफा १५(१)(ख) अनुसार १० देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको माग गरिएको छ।
त्यसैगरी पीडितलाई परेको शारीरिक र मानसिक आघात बापत ऐनको दफा १७ बमोजिम प्रतिवादीबाट मनासिब क्षतिपूर्ति भराउन माग गरिएको छ।
माघ १९, २०८२ सोमबार १०:१८:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।