अफगानिस्तानमा तालिबानद्वारा गर्भनिरोधक चक्कीमा प्रतिबन्ध, डाक्टरलाई क्लिनिक बन्द गर्ने धम्की

अफगानिस्तानमा तालिबानद्वारा गर्भनिरोधक चक्कीमा प्रतिबन्ध, डाक्टरलाई क्लिनिक बन्द गर्ने धम्की

एजेन्सी : अफगानिस्तानको तालिबान सरकारले महिलाहरूका लागि गर्भनिरोधक चक्कीको प्रयोगमा प्रतिबन्ध लगाएको छ। तालिबानले डाक्टरहरूलाई धम्की दिँदै यदि महिलालाई यस्तो औषधि दिएमा क्लिनिक नै बन्द गरिदिने चेतावनी दिएको छ।

यसको असरस्वरूप देशभरका क्लिनिकहरू बन्द हुँदैछन् भने महिलाहरूले गर्भधारण रोक्न वा गर्भ तुहिएपछिको उपचार पाउन सकेका छैनन्। बादगिस प्रान्तको एक निजी क्लिनिकमा चेतावनी दिँदै त्यहाँ रहेका सबै औषधि नष्ट गरिएको छ।

जावजान प्रान्तमा ३० वर्षदेखि क्लिनिक चलाइरहेकी एक डाक्टरका अनुसार, तालिबान सत्तामा आएपछि गर्भनिरोधक चक्कीको अभाव तीव्र भएको छ।

उनले भनिन्, ‘यहाँ आउने ७० मध्ये ३० जना महिलालाई यसको आवश्यकता पर्छ, तर हामीसँग छैन भनेर फर्काउनुपर्ने बाध्यता छ।’

कन्धार लगायतका धेरै ठाउँमा महिलाले पुरुष डाक्टरसँग उपचार गराउनसमेत कडाइ गरिएको छ।

संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठनका अनुसार गत वर्ष अन्तर्राष्ट्रिय फन्डिङ कम हुँदा ४४० भन्दा बढी अस्पताल र क्लिनिक बन्द भएका छन्। ग्रामीण भेगका महिलाहरू उपचारका लागि घण्टौं हिँड्नुपर्ने बाध्यता छ।

गर्भवती र स्तनपान गराउने ८० प्रतिशत महिला कुपोषित छन्। उनीहरूमा रक्तअल्पता (एनिमिया), भिटामिनको कमी र लो ब्लड प्रेसरको समस्या देखिएको छ।

महिलामाथि अन्य प्रतिबन्धहरू
सन् २०२१ को अगस्ट १५ मा सत्ता कब्जा गरेयता तालिबानले महिलाको स्वतन्त्रता खोस्ने कयौं कानुन लागू गरेको छ।

जसमा १२ वर्षभन्दा माथिका बालिकालाई पढाइमा प्रतिबन्ध, धेरैजसो सरकारी र निजी क्षेत्रमा महिलालाई काम गर्न रोक, पुरुष अभिभावकविना घरबाहिर निस्कन नपाइने, पूरै शरीर र अनुहार छोप्ने बुर्का अनिवार्य गरिएको छ। 

यसका अलावा सन् २०२४ को अगस्टमा महिलालाई घरबाहिर ठूलो स्वरमा बोल्न समेत रोक लगाइएको थियो। महिलाको आवाजले पुरुषको मन भड्किन सक्ने तालिबानको तर्क छ।

तालिबानले देशमा शरिया कानुन लागू गरेको छ, जसअन्तर्गत महिला अधिकार र स्वतन्त्रतामाथि कडा अंकुश लगाइएको छ।

माघ १९, २०८२ सोमबार ०८:१२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।