यौन अपराधी एपस्टिनसँग नाम जोडिएपछि बेलायती नेता पिटर मान्डेलसनद्वारा राजीनामा

यौन अपराधी एपस्टिनसँग नाम जोडिएपछि बेलायती नेता पिटर मान्डेलसनद्वारा राजीनामा

एजेन्सी : यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित नयाँ दस्तावेजहरू सार्वजनिक भएपछि बेलायतको लेबर पार्टीका नेता पिटर मान्डेलसनले पार्टीबाट राजीनामा दिएका छन्।

अमेरिकाको न्याय मन्त्रालयले हालै सार्वजनिक गरेका नयाँ फाइलहरूमा एपस्टिनले सन् २००३ र २००४ मा मान्डेलसनलाई तीन पटक गरी कुल ७५ हजार डलर भुक्तानी गरेको उल्लेख छ। यी विवरण बाहिर आएपछि उनीमाथि दबाब बढेको थियो।

लेबर पार्टीका महासचिवलाई पत्र लेख्दै मान्डेलसनले पार्टीलाई ‘थप लज्जित’ बनाउन नचाहेको बताएका छन्।

उनले आफूमाथि लागेका आरोपहरू झूटो भएको दाबी गर्दै भनेका छन्, ‘२० वर्षअघि एपस्टिनले मलाई पैसा दिएको भन्ने आरोपको मसँग कुनै अभिलेख वा याद छैन। यद्यपि, म यस विषयमा जाँच गर्न चाहन्छु।’

उनले थपे, ‘यो प्रक्रिया चलिरहँदा म लेबर पार्टीलाई कुनै आँच आउन नदिन सदस्यताबाट राजीनामा दिँदैछु। म ती महिला र बालिकाहरूसँग पुनः माफी माग्न चाहन्छु जसको आवाज धेरै पहिले नै सुनिनुपर्ने थियो।’

यसअघि पनि एपस्टिनसँगको सम्बन्धकै कारण पूर्व क्याबिनेट मन्त्री मान्डेलसनलाई अमेरिकाका लागि बेलायती राजदूतको दौडबाट हटाइएको थियो।

मान्डेलसनले भने सार्वजनिक भएका नयाँ दस्तावेजहरू असली हुन् वा होइनन् भन्ने आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्।

माघ १९, २०८२ सोमबार ०७:४७:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।