सुदूरपश्चिमदेखि मध्य नेपालसम्म वर्षा र हिमपातको सम्भावना
काठमाडौं : गत मङ्गलबार र बुधवारको वर्षा र हिमपातले जनजीवन प्रभावित पारेर खुलेको मौसम एक हप्ता नबित्दै पुनः सक्रिय हुन लागेको छ। नेपालमा पुनः पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली हुन लागेको हो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आइतबारदेखि नै सुदूरपश्चिम क्षेत्रमा यसको हल्का असर देखिन थालेको छ।
यो प्रणाली सोमबार केही बढेर पश्चिम क्षेत्रको उच्च हिमाली तथा पहाडी क्षेत्रमा फैलिँदै जाने र मङ्गलबारसम्ममा मध्य नेपालसम्म आइपुग्ने छ। ती क्षेत्रमा पूर्ण बदली हुनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली भई चिसो बढ्ने देखिएको छ।
अघिल्लो साताको जस्तो धेरै बलियो प्रणाली नभए पनि पश्चिम नेपालमा पहिलेदेखि नै हिउँ परिरहेको र चिसो भइसकेकाले अबको प्रणालीले मध्यम वर्षा तथा हिमपात गराउने सम्भावना छ। विशेषगरी कर्णाली र सुदूरपश्चिमका विभिन्न क्षेत्रमा आजैदेखि बदली सुरु भएको छ।
मङ्गलबार मध्य नेपालभन्दा पश्चिममा बदली भएर वर्षा र हिमपात बढ्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी र बागमती प्रदेशको माथिल्लो भेगमा यसको केही असर देखिए पनि तराई र मधेस प्रदेशमा भने प्रभाव न्यून रहने महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा भने मङ्गलबार राति छिटपुट वर्षा हुन सक्ने सम्भावना छ।
मङ्गलबार दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुनेछ।
यस्तै, लुम्बिनी, कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।
माघ १८, २०८२ आइतबार १९:५५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।