रास्वपाको निर्वाचन अभियानमा जोडियो दोस्रो मृत्यु, रविको चालकपछि बालेनको प्रचारमा खटिएका दिनेश रहेनन्

रास्वपाको निर्वाचन अभियानमा जोडियो दोस्रो मृत्यु, रविको चालकपछि बालेनको प्रचारमा खटिएका दिनेश रहेनन्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि निर्वाचन अभियान शोक र त्रासदीको शृङ्खला बन्न पुगेको छ। २०७९ को निर्वाचनमा पार्टी सभापति रवि लामिछानेका चालकको मृत्यु भएको थियो। २०८२ मा पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै चुनावी प्रचारका लागि सुदूरपश्चिमको अछाम पुगेका पत्रकार दिनेश सिटौलाको मृत्यु भयो। 

अछाममा बेहोस, हेलिकोप्टरबाट काठमाडौं

नुवाकोट स्थायी ठेगाना भएका पत्रकार सिटौला अछाममा चुनावी अभियानकै क्रममा शुक्रवार बिहान करिब १० बजे अकस्मात् बेहोस भई ढलेका थिए। उनलाई तत्काल अछाम जिल्ला अस्पताल पुर्याउँदा बाहिरी चोट नदेखिए पनि श्वासप्रश्वास र मुटुको चाल बन्द भइसकेको थियो। चिकित्सकहरूले करिब ४० मिनेटसम्म सिपिआर दिएपछि उनको मुटुको चाल फर्किएको थियो।

मुटुको चाल फर्किए लगत्तै उनलाई कृत्रिम श्वासप्रश्वासकै अवस्थामा नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याई टोखास्थित ग्राण्डी अस्पतालको आइसियुमा भर्ना गरिएको थियो।

अस्पतालको प्रयास र मृत्युको घोषणा

ग्राण्डी अस्पतालका अनुसार दिनेशलाई गम्भीर किसिमको ‘सबअरेनहाइड हेमोरेज’ (मस्तिष्कको नशा फुटेर हुने रक्तस्राव) भएको थियो। न्युरो सर्जरी र क्रिटिकल केयर टिमले संयुक्त रूपमा उपचार गरे पनि ४८ घण्टापछि उनको स्वास्थ्यमा कुनै सुधार आएन।

चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न गरिएको ‘अप्नेया’ परीक्षणपछि अस्पतालले उनको मृत्यु भएको घोषणा गरेको हो। अस्पतालले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै उनको निधन शुक्रवार दिउँसो १२:४५ बजे नै भएको जानकारी दिएको छ। यद्यपि, रास्वपा नेताहरूले स्वास्थ्य अवस्था सार्वजनिक नगर्न आग्रह गरेका कारण शनिवार बेलुकासम्म अस्पताल प्रशासन औपचारिक रूपमा बोलेको थिएन।

सिटौला चलचित्र पत्रकारितासँग जोडिएका थिए। उनी चलचित्र पत्रकार संघको अध्यक्ष समेत भएका थिए।

चुनावी अभियानमा दोहोरिएको वियोग

रास्वपाको चुनावी गतिविधिसँग जोडिएर ज्यान गुमाउने सिटौला दोस्रो व्यक्ति हुन्। यसअघि चितवनमा चुनावी अभियानकै क्रममा २०७९ वैशाखमा पार्टी सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको मृत्यु भएको थियो।

सिन्धुपाल्चोकका ३९ वर्षीय थापा वैशाख ४ गते राति चितवनस्थित लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका थिए। टाउको र खुट्टामा गम्भीर चोट लागेका थापाको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

माघ १८, २०८२ आइतबार १४:५४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।