रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशको मृत्यु, भएन ‘मिराकल’

रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशको मृत्यु, भएन ‘मिराकल’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहसँगै चुनाव प्रचारमा खटिँदा अकस्मात् बेहोस भएका पत्रकार दिनेश सिटौलाको मृत्युको घोषणा भएको छ। 

काठमाडौंको ग्राण्डी अस्पतालमा शुक्रवार भर्ना गरिएका उनको १२ : ४५ मा मृत्यु भएको अस्पतालले घोषणा गरेको हो। तर, उनको मृत्यु घोषणा गरिएको विज्ञप्ति आइतबार बाहिरिए पनि सो पत्र कहिले जारी गरिएको हो भन्ने मिति उल्लेख भएको देखिएन।

अस्पतालले  दिनेशमा गम्भीर किसिमको सबअरेनहाइड हेमोरेजका लागि स्थापित प्रोटोकल अनुसार क्रिटिकल केयर र न्युरो सर्जरी टिमले संयुक्त रूपमा आइसियुमा भर्ना गरेको उल्लेख गरेको छ। 

‘प्रारम्भिक परीक्षणमा ग्याग रिफ्लेक्सको उपस्थिति देखियो र थप ४८ घण्टा अनुगमन गर्ने निर्णय लिइयो,’विज्ञप्तिमा भनिएको छ।

आइसियुमा बस्दा उनलाई डायबिटिस इन्सिपिडसको समस्या पनि विकसित भएको र तत्कालै पहिचान गरी स्थापित मार्ग निर्देशन अनुसार व्यवस्थापन गरिएको उल्लेख छ। तर, गम्भीर इन्टेन्सिभ केयरका बावजुत ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा नपरेको र मस्तिष्कको कार्यक्षमता पुनः प्राप्तिको कुनै संकेत नदेखिएको अस्पतालले जनाएको छ। 

त्यसैगरी चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्य क्षमता परीक्षण गर्न ‘अप्नेया’ परीक्षण गरिएको र त्यो ‘पोजेटिभ’ देखिएको अस्पतालले जनाएको छ। ‘जसले स्वत श्वासप्रश्वास नभएको जनाउँछ,’ र उहाँको १२ ४५ बजे निधन भएको जानकारी गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ।  अस्पतालले मृत्यु घोषणा गर्दै जारी  गरेको विज्ञप्तिमा बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्श दिइएको उल्लेख छ।

शाहसँगै चुनाव प्रचारमा सुदूरपश्चिमको अछाम पुगेका नुवाकोटका पत्रकार सिटौला अकस्मात् बेहोस भएर ढलेपछि शुक्रवार उनलाई हेलिकप्टरबाट काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो।

रास्वपाका नेताहरूले उनको स्वास्थ्य अवस्थाबारे सार्वजनिक नगर्न आग्रह गरेकाले अस्पतालका आधिकारिक अधिकारी सिटौलाको स्वास्थ्य अवस्थाबारे औपचारिकरूपमा शनिवार बेलुकासम्म बोलेका थिएनन्।

ग्राण्डी ल्याउँदा मुटुको चाल मात्र थियो

एक स्वास्थ्यकर्मीका अनुसार दिनेश बेहोसी भएको ठाउँबाट अछाम जिल्ला अस्पताल करिब १५ मिनेटको दुरीमा थियो। बेहोस भएपछि दिनेशलाई शुक्रवार बिहान करिब दश बजेतिर अछाम अस्पताल पुर्याइएको थियो।

अस्पताल पुर्याउँदा उनी बेहोस नै थिए। बाहिरी रूपमा हेर्दा चोट देखिएको थिएन। तर श्वासप्रश्वास र मुटुको चाल थिएन। करिब ४० मिनेट सिपिआर लगायतको उपचार गरेपछि उनको मुटुको चाल भने फर्कियो।

उनलाई कृत्रिम श्वास दिएर करिब एक घण्टा उपचार गरिएको थियो। मुटुको चाल फर्किएपछि कृत्रिम श्वास दिइराखेरै उनलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याएर सुर्खेतबाट हवाईजहाजमार्फत काठमाडौंमा ल्याएको र  करिब अढाई बजेतिर ग्राण्डी अस्पताल पुर्याएर आइसियुमा भर्ना गरिएको ती चिकित्सकले जानकारी दिए। 

सिटौलालाई ग्राण्डीमा भर्ना गरेपछि अछामबाट आएको स्वास्थ्यकर्मीको टिम फर्किएको थियो। 

माघ १८, २०८२ आइतबार १४:३७:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।