महोत्तरी-२ का उम्मेदवारलाई नागरिककाे गुनासाेः बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

महोत्तरी-२ का उम्मेदवारलाई नागरिककाे गुनासाेः बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

महोत्तरी : प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि भोट माग्न आउने उम्मेदवारलाई महोत्तरी २ का मतदाताले बर्खामा डुबान र हिउँदमा पानीको हाहाकारको समस्या भोगिरहेको गुनासो पोख्ने गरेका छन्। 

नदी नियन्त्रणका लागि पक्की तटबन्ध र कुलोनहरका बाँध नबन्दा बर्सेनि आफूहरुले दुःख पाइरहेको भङ्गाहा-६ हतिसर्वा मजराका ५५ वर्षीय सुरेश सर्दारले बताए।

“हाम्रो बस्ती नदीका कारण समस्यामा छ, बर्खामा नदीमा आउने बाढीका कारण बस्ती र खेत जोखिममा पर्दै आएको छ”, उनले भने। विगतमा ठाउँठाउँमा कटान र डुबान रोक्न तटबन्ध निर्माण गरिए पनि त्यसले समस्या समाधान भएको छैन। 

यस क्षेत्र भएर बग्ने रातु नदीको ताण्डवले जिल्लाका सात स्थानीय तहका बासिन्दा प्रभावित छन्। यसको दीर्घकालीन समाधान नखाेजिदा समस्या जस्ताको त्यस्तै भएको बलवा-११ भगवतीपुरकी मरनी माझी मुसहरको भनाइ छ। “बर्खा लाग्यो कि घर बाढीले लाने हो कि भन्ने त्रास हुन्छ”, माझीले भने। 

जिल्लाको पूर्वी मध्यभेगको यो क्षेत्रमा बिग्ही, रातु, मरहा र ओक्सीसहितका नदीपिडित समूह मुख्य समस्या नै बर्खामा कटान र डुवान एवं हिउँदमा पानीको अभाव रहेको बताउँछन्।  

जिल्लाको मध्यभेगको भङ्गाहा नगरपालिका-१, २, ६, ७ र ८, बलवा नगरपालिकाका-११, मध्यपूर्वी भेगको लोहारपट्टी नगरपालिकाका-९, महोत्तरी गाउँपालिका-६, औरही नगरपालिका-७, ८ र ९, पिपरा-६ र एकडारा गाउँपालिका-६ वडा महोत्तरी- २ मा पर्छन्।

यहाँका बासिन्दाको मुख्य पेसा खेती भएर पनि सिँचाइको उचित प्रबन्ध नहुँदा आकासे पानीको भरमा खेती गर्नुपरेका छ भने बर्खामा बाढीले घरबस्ती डुबाउने / बगाउने त्रासको नियति यहाँका बासिन्दाले खेप्दै आएका छन्। 

“हामी दुःखमा छौं, खेतमा सिँचाइको प्रबन्ध छैन, बर्खामा बाढीले डुबाएर कहिल्यै राम्ररी अन्न थन्क्याउन पाएका छैनौं”, महोत्तरी गाउँपालिका–६ गोरीगमाका ४५ वर्षीय भोला महतो भन्छन्, “चुनाव त भइ नै राखेका छन्, तर हाम्रो दुःख जहाँको त्यहीँ रह्यो।”

यो क्षेत्र बर्खाकालमा बाढी कटान डुबान र हिउँदमा पानीको हाहाकारमा पर्ने गरेको छ। हिउँद अन्त्यतिर सिँचाइका लागि मात्र नभएर कुनैकुनै वर्ष खानेपानीकै पनि हाहाकार पर्ने गरेको यहाँका बासिन्दा बताउँछन्।

यो समस्या भोग्दै आएका यहाँका बासिन्दा सरकारले खेतीपातीका लागि सिँचाइ सुविधा, समयमा बीउबिजन, मलखाद र सुलभ कृषि ऋणको व्यवस्थासँगै बाढीबाट जोगाउन पक्की बाँध (तटबन्ध) को प्रबन्ध गरी देओस् भन्ने चाहना भएको लोहारपट्टी- १ का रामसागर यादवको भनाइ छ।

आसन्न निर्वाचनका लागि यहाँ १५ राजनीतिक दलका र स्वतन्त्र २२ गरी जम्मा ३७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

चुनाव प्रचारप्रसारका क्रममा यस क्षेत्रका बासिन्दाबाट यस्तै समस्या आउने गरेको नेकपा (संयुक्त) बाट उम्मेदवार इदरिस मोमिनले बताए। “योजनाबद्ध तरिकाले काम हुन नसक्दा जनताका गुनासा बढेका हुन्, अब हामी सबैको साझा सङ्कल्पले निदान पहिल्याइनु पर्दछ”, उनले  भने। 

निर्वाचन नजिकिएसँगै महोत्तरी-२ मा पनि चुनावी चहलपहल सुरु भएको छ। महोत्तरी- २ मा एक लाख सात हजार ५९४ मतदाता छन्। 

माघ १८, २०८२ आइतबार १३:५४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।