नारामा समावेशी, टिकटमा विभेद : सुदूरपश्चिममा प्रमुख दलबाट महिला उम्मेदवार न्यून
सुदूरपश्चिम : समावेशी लोकतन्त्र र राज्यका हरेक निकायमा महिलाको ३३ प्रतिशत सहभागिताको संवैधानिक सुनिश्चितताका बीच सुदूरपश्चिम प्रदेशमा आगामी प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनमा प्रमुख दलहरूले नै महिलालाई पाखा लगाएका छन्।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये प्रमुख दलले महिला उम्मेदवारमाथि अविश्वास देखाउँदा चुनावी मैदानमा उनीहरूको उपस्थिति न्यून देखियो। नेपाली कांग्रेस र एमालेले सुदूरपश्चिमका कुनै पनि क्षेत्रमा महिलालाई प्रत्यक्षतर्फको टिकट दिएन।
ठुला दलमध्ये नेपाली कम्युनिष्ट पार्टीले कञ्चनपुर क्षेत्र नम्बर १ बाट विना मगरलाई मात्र चुनावी मैदानमा उतारेको छ। त्यस्तै साबिकको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली क्षेत्र नम्बर १ बाट कोमल ज्ञवालीलाई चुनावी मैदानमा उतारेको छ। प्रदेशभर कुल २०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहँदा महिला उम्मेदवारको सङ्ख्या जम्मा १८ मात्रै छ, जुन कुल उम्मेदवारको १० प्रतिशतभन्दा पनि कम हो।
ठुला दलले महिलालाई उपेक्षा गरिरहँदा साना दलहरूले भने महिलालाई तुलनात्मक रूपमा बढी अवसर दिए। नेपाल मजदुर किसान पार्टीले सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठायो। सो पार्टीले कैलाली क्षेत्र नम्बर १ मा सुनिता भण्डारी, क्षेत्र नम्बर २ मा लक्ष्मी पुनमगर, क्षेत्र नम्बर ३ मा जुनु महतरा शाही, क्षेत्र नम्बर ४ मा अमृता भूल र क्षेत्र नम्बर ५ मा तृषण पुनमगरलाई उम्मेदवार बनायो।
मितेरी नेपाल पार्टीले कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा सम्झना विष्ट थापा, क्षेत्र नम्बर ३ मा सुशीला थापामगर र क्षेत्र नम्बर ५ मा राधिकाकुमारी कार्की र डोटी जिल्लाबाट सरस्वतीकुमार पाल मल्ललाई उठाएको छ। आम जनता पार्टीले कैलाली क्षेत्र नम्बर १ मा रुपाकुमारी चौधरी, कञ्चनपुर नम्बर १ मा सीता विक र क्षेत्र नम्बर ३ मा लक्ष्मीकुमारी विष्टलाई प्रत्याशी बनायो।
नागरिक उन्मुक्ति पार्टी, नेपालले कञ्चनपुर- २ बाट प्रेमवती रानालाई र राष्ट्रिय जनमोर्चाले कैलाली क्षेत्र नम्बर ५ मा शोभामणि जोशीलाई उम्मेदवार बनाएको छ। मञ्जुदेवी सुनार र रुपादेवी विष्ट कञ्चनपुर क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवार छन्।
विघटित प्रतिनिधिसभाका पाँच सदस्य उम्मेदवार
कांग्रेस नेता एवं विघटित प्रतिनिधिसभा सदस्य एनपी साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट पुनः उम्मेदवार बनेका छन्। विघटित प्रतिनिधिसभाका सदस्य एवं एमाले नेता दामोदर भण्डारी बैतडीबाट र अर्का नेता तारा लामा तामाङ कञ्चनपुर क्षेत्र नम्बर १ बाट र कांग्रेस नेता पुष्पकुमार शाही अछाम क्षेत्र नम्बर २ बाट पुनः चुनावी प्रतिस्पर्धामा छन्।
प्रेमबहादुर आले नेपाली कम्युनिष्ट पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवार बने। आले अघिल्लो निर्वाचनमा तत्कालीन एकीकृत समाजवादीका तर्फबाट डोटीमा उम्मेदवारी बनेर निर्वाचित भएका थिए।
सुदूरपश्चिम प्रदेशमा २०६ जनाले उम्मेदवार दिएकोमा सबैभन्दा बढी उम्मेदवार कञ्चनपुर क्षेत्र नम्बर १ मा १९ र क्षेत्र नम्बर २ मा १९ जना छन्। सबैभन्दा कम बझाङमा सात उम्मेदवार छन्।
माघ १७, २०८२ शनिबार २१:०५:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।