ऐतिहासिक रेकर्डपछि सुन र चाँदीको मूल्यमा ठूलो करेक्सन, एकैदिन २६ प्रतिशतसम्मको गिरावटको अर्थ के?
काठमाडौं : लामो समयदेखि लगातार बढिरहेको सुन र चाँदीको मूल्यमा शुक्रबार ठूलो गिरावट आयो।
३० जनवरीका दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १२ प्रतिशत र चाँदीको मूल्यमा २६ प्रतिशतको भारी गिरावट दर्ता गरिएको छ। त्यस्तै, प्लाटिनमको मूल्य पनि १८ प्रतिशतले घटेको छ।
त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्यो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य एकै दिन २० हजार ५ सय रुपैयाँले घट्यो। यद्यपि त्यसको अघिल्लो दिन सोही अनुसारको मूल्य वृद्धि भएको थियो।
बिहीबार मात्र नेपाली बजारमा सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो। तर, शुक्रबारको यो गिरावट सन् १९८० को दशकपछिकै सबैभन्दा ठूलो एकै दिनको गिरावट भएको बताइएको छ।
किन घट्यो मूल्य?
बजार विश्लेषकहरूका अनुसार यो गिरावट हुनुमा अमेरिकी केन्द्रीय बैंक (फेड)को नेतृत्व परिवर्तन हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेडेरल रिजर्भ’को आगामी अध्यक्षका रूपमा केभिन वार्सको नाम घोषणा गरेका छन्। वार्सलाई मुद्रास्फीति (महँगी) नियन्त्रणमा कडा कदम चाल्ने अर्थशास्त्रीका रूपमा हेरिन्छ। यो समाचार सार्वजनिक हुनासाथ लगानीकर्ताहरू सुन बेचेर डलरतर्फ आकर्षित भए।
यसका अलावा डलर बलियो हुनु पनि अन्तर्राष्ट्रिय बजारमा सुन घट्नुको अर्को कारण हो। केभिन वार्सको मनोनयन र अन्य केही कारणले अमेरिकी डलरको मूल्य बढ्यो। डलर बलियो हुँदा सुन र चाँदी जस्ता कमोडिटीहरू अन्य मुद्रा हुनेहरूका लागि महँगो पर्छ, जसले गर्दा माग घट्न गई मूल्यमा गिरावट आउँछ।
प्रफिट बुकिङ पनि सुनचाँदीको मूल्य घट्नुको अर्को कारण हुनसक्ने बीबीसीले उल्लेख गरेको छ। मूल्य आकाशिएका बेला लगानीकर्ताहरूले आफूसँग भएको सुन-चाँदी बेचेर नाफा सुरक्षित गर्न थालेपछि बजारमा थप गिरावट आयो।
सुनको मूल्य घट्नुको अर्को कारण अत्याधिक खरिद पनि हो। प्राविधिक रूपमा सुन र चाँदी ओभरबोट अर्थात अत्यधिक खरिदको श्रेणीमा पुगेका थिए। आरएसआई ९० सम्म पुग्नुको अर्थ बजारमा मूल्य आवश्यकताभन्दा बढी बढिसकेको थियो र यसमा करेक्सन हुनु अनिवार्य थियो।
राष्ट्रपति ट्रम्पले इरानसँग वार्ता गर्ने सङ्केत दिनु र अमेरिकामा सरकारी ‘शटडाउन’को खतरा टर्नुले पनि लगानीकर्ताहरू सुरक्षित लगानी मानिने सुन छाडेर सेयर बजार र डलरतर्फ लागेको हुनसक्ने विश्लेषण बजार विश्लेषकहरूको छ।
बजारमा कस्तो असर देखियो?
यसले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी मात्रामा गिरावट आएको छ। न्यूयोर्क ट्रेडिङमा सुन ८.९ प्रतिशतले घटेर ४ हजार ८९४ डलर प्रतिऔंसमा बन्द भएको छ भने चाँदी २६ प्रतिशतले घटेर ८५.२० डलर प्रतिऔंसमा झरेको छ।
यस्तै सुनचाँदीको मूल्यमा परेको प्रभावले तामा र अन्य धातुको मूल्य पनि घटेको छ। लन्डन मेटल एक्सचेन्जमा तामाको मूल्य पनि घटेको छ भने सुन खानीसँग सम्बन्धित ठूला विश्वव्यापी कम्पनीहरूको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले घटेको छ।
सुनको मूल्य बढाउन चिनियाँ लगानीकर्ताहरूको ठूलो हात थियो। चिनियाँ बजारमा बढ्दो मागलाई मध्यनजर गर्दै सांघाई फ्युचर्स एक्सचेन्जले मूल्य नियन्त्रण गर्न केही कडा उपायहरू समेत अवलम्बन गरेको थियो।
यसरी ठूलो गिरावट आए पनि महिनाभरिको हिसाब गर्दा सुन अझै १३ प्रतिशत र चाँदी १९ प्रतिशत नाफामै रहेका छन्। विज्ञहरूका अनुसार आगामी दिनमा पनि सुनचाँदीको बजारमा यस्तै उतारचढाव जारी रहने सम्भावना छ।
माघ १७, २०८२ शनिबार १४:३५:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।