हलमा दर्शकको खडेरी : ९७ दिनदेखि ‘परान’ चलिरहँदा अरू फिल्मलाई परान जोगाउनै मुस्किल

हलमा दर्शकको खडेरी : ९७ दिनदेखि ‘परान’ चलिरहँदा अरू फिल्मलाई परान जोगाउनै मुस्किल

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको रापले देशैभरिका चियापसलदेखि चौतारीसम्म तताएको छ। उम्मेदवारहरू दलबलसहित घरदैलोमा छन्, माइकिङ र चुनावी गीतले सडक गुञ्जायमान छ।

देशको राजनीतिक माहोल चुनावले तात्तिरहँदा नेपाली फिल्मको ‘बक्स अफिस’ भने चिसोले कठ्याङ्ग्रिएको अवस्थामा छ। राजनीतिक सरगर्मी जति बढ्दो छ, फिल्म हलहरूको शून्यता त्यति नै उराठलाग्दो देखिन्छ।

हलमा नयाँ-नयाँ फिल्महरू प्रदर्शन त भइरहेका छन्, तर ती फिल्म हेर्ने दर्शकको खडेरी लागेको छ। फिल्म प्रदर्शनका क्रममा हलमा दर्शकको उपस्थिति देखाउन कतिपय निर्माता र निर्देशक आफैँले टिकट काटेर मान्छे भर्ने गरेको समेत पाइएको छ।

युटुब च्यानलहरूमा ‘दर्शकको ओइरो’ भन्दै अन्तर्वार्ता दिने निर्माताहरू बाहिर चिच्याइरहँदा हलभित्र भने आधाभन्दा बढी कुर्सी खाली हुने गरेका छन्।

‘परान’को सफलतापछि सुरु भएको मन्दी
नेपाली चलचित्र बजारमा पछिल्लो समय उत्साह जगाएको एउटै फिल्म हो- ‘परान’। गत कात्तिक १० गते प्रदर्शनमा आएको यो फिल्मले अहिलेसम्म १८ करोड रुपैयाँको हाराहारीमा व्यापार गरिसकेको छ र सय दिन मनाउने तरखरमा छ।

तर, ‘परान’ पछिका कुनै पनि फिल्मले सुखद व्यापार गर्न सकेका छैनन्। मंसिरदेखि यता रिलिज भएका फिल्महरूले ‘पानी समेत भन्न’ पाएका छैनन्।

दुई करोडभन्दा बढी खर्चिएर बनाइएका फिल्मको हातमा ७-८ लाख रुपैयाँ पनि पर्न मुस्किल भइरहेको छ। कतिपय फिल्म त कहिले आए र कहिले हलबाट उत्रिए, दर्शकले पत्तै पाएनन्।

पुसको व्यापार : ‘पाँडे’को डेब्युदेखि प्रदीपको ‘एक्लो’सम्म
पुस महिनामा तीनवटा ठूला फिल्म रिलिज भए, तर नतिजा उत्साहजनक रहेन।

चर्चित हास्य टेलिशृङ्खला ‘सक्किगोनी’का लेखक तथा निर्देशक अर्जुन घिमिरे (पाँडे)ले पहिलोपटक निर्देशन गरेको फिल्म ‘झरिपछिको इन्द्रेणी’ पुस ४ गतेबाट प्रदर्शनमा आयो। जेनजी पुस्ताको कथा भनिएको यो फिल्मले हालसम्म १ करोड २३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

दीपाश्री निरौला, रमेश उप्रेती र गणेश उप्रेती जस्ता कलाकार भए पनि यसले निर्मातालाई हलबाट सुरक्षित बनाउन सकेन। २ करोडभन्दा माथिको बजेटमा बनेको यो फिल्मको ग्रस कलेक्सनबाट निर्माताको हातमा ३०-३५ लाखभन्दा बढी पर्दैन। यद्यपि, डिजिटल अधिकार बिक्रीबाट फिल्मले केही राहत पाएको हुनसक्छ।

पुस १० मा आएको ‘मुगलान’को अवस्था झनै दर्दनाक देखियो। आशिष ढकाल निर्देशित यस फिल्मलाई देशभर जम्मा २४ सय जनाले मात्र हेरेको चलचित्र विकास बोर्डको बक्स अफिस तथ्याङ्कले देखाउँछ।

यसले जम्मा ६ लाख ३१ हजार ९४४ रुपैयाँ ग्रस कलेक्सन गर्यो। स्मारिका ढकाल र प्रभात पाल जस्ता सामाजिक सञ्जालका चर्चित अनुहार हुँदाहुँदै पनि फिल्मले पत्रकार सम्मेलनको खर्च समेत उठाउन सकेन।

पुस १७ मा ठूलो आशा गरिएको फिल्म ‘एक्लो’ रिलिज भयो। प्रदीप खड्का, बेनिशा हमाल र विजय लामा जस्ता ‘स्टार कास्ट’ भएको यो साइन्स फिक्सन फिल्म तीन दिन पनि टिक्न सकेन।

फिल्ममा अत्यधिक अंग्रेजी संवाद र नेपाली फिल्ममा नयाँ प्रयोग गरिएको साइको थ्रिलर जनरामा बनेको फिल्मलाई दर्शकले रुचाएनन्। प्रदीप शाही निर्देशित यस फिल्मले दुई सातामा जम्मा १४ हजार २ सय ५५ टिकट बिक्री गर्दै ४६ लाख ९५ हजार रुपैयाँ मात्र संकलन गर्यो।

माघको संकट : दयाहाङ र सौगातको जादु हरायो
माघ महिनाको सुरुवातसँगै माघे संक्रान्तिमा तीनवटा फिल्म ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’ एकसाथ प्रदर्शनमा आए। मरिचमान श्रेष्ठ निर्देशित ‘गोबर गणेश’ ले १ करोड १४ लाख संकलन गरेर केही इज्जत जोगाए पनि अरूको अवस्था हरिबिजोग रह्यो।

दयाहाङ राई र सिर्जना निङलेखुको मुख्य भूमिका रहेको ‘मिरमिरे’ ले जम्मा ३३ लाख ७२ हजार रुपैयाँ संकलन गर्यो। यसअघि यो जोडीको ‘कार्साङ’ पनि फ्लप भएको थियो, जसका कारण सिर्जनालाई ‘हिट हिरोइन’ बन्ने बाटो यसपटक पनि बन्द भयो।

उता, सौगात मल्ल र सृष्टि श्रेष्ठको ‘भाइरल गोर्खे’ ले १० हजार ६ सय ५ टिकट बिक्री गर्दै ३४ लाख ५३ हजार रुपैयाँ मात्र उठायो। सौगात र दयाहाङ जस्ता ‘भ्याल्यूएबल’ कलाकारका फिल्मले समेत दर्शक तान्न नसक्नुले उद्योगमा चिन्ता बढाएको छ।

राजनीतिक अन्योल र आगामी फिल्मको भविष्य
गएको शुक्रबारबाट प्रदर्शनमा आएको ‘परिवर्तन’ को अवस्था पनि नाजुक नै छ। सुशील श्रेष्ठ, करिश्मा मानन्धर र बुद्धि तामाङ जस्ता कलाकार भए पनि बक्स अफिसमा यसको प्रभाव शून्यप्रायः छ। अर्को फिल्म ‘बिगुल’ले त राजनीतिक उथलपुथलको डरले आफ्नो प्रदर्शन मिति फागुन १ गतेलाई सारेको छ।

यसैबीच, माघ १६ बाट ‘आ बाट आमा’ र बेनिशा हमालको ‘द ब्लु लाइट’ प्रदर्शनमा आएका छन्। यी फिल्मले हलमा पर्याप्त सो पाएका छन्, तर पछिल्लो दुई दिनमा हलमा खासै दर्शक देखिएका छैनन्। यद्यपि खास कुरा त बक्स अफिस रिपोर्टले नै बोल्छ।

आगामी माघ २३ मा ‘कुमारी’ र ‘रमिताको पिरती’ रिलिज हुँदैछन्। अभिनेत्री तथा निर्मात्री आना शर्माले भ्यालेन्टाइन डे लक्षित फिल्म भएकाले ‘रमिताको पिरती’ को मिति नसार्ने अडान लिएकी छन्।

नेपाली फिल्म क्षेत्रमा दर्शक हराउनुको प्रमुख कारण केवल राजनीति र चुनाव मात्र होइन। कमजोर पटकथा, दर्शकको रुचिभन्दा बाहिरको मेकिङ, र कलाकारहरूको अत्यधिक पुनरावृत्तिले पनि दर्शकलाई हलसम्म जान निरुत्साहित गरेको छ।

उम्मेदवारहरूले मतदाता रिझाए जस्तै फिल्म निर्माताहरूले पनि दर्शकको मन रिझाउन अब नयाँ शैली र मौलिक कथावस्तुमा काम गर्नुपर्ने देखिन्छ। चुनावी राप सकिएपछि फिल्म बजारमा पुनः रौनक फर्किएला कि नफर्किएला, त्यो भने फागुनपछिका रिलिजले नै तय गर्नेछन्।

माघ १७, २०८२ शनिबार १३:१५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।