काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेकै हुँ : सभापति गगन थापा

काठमाडौं सहज थियो, सर्लाही रोजेर चुनौती मोलेकै हुँ : सभापति गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले काठमाडौं क्षेत्र नं. ४ का पार्टी कार्यकर्ताहरूप्रति आभार व्यक्त गरेका छन्।

निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रममा बोल्दै थापाले आफ्नो राजनीतिक जग काठमाडौं-४ नै भएको बताए।

थापाले सन् २०७० मा पहिलोपटक प्रत्यक्ष निर्वाचित भएको अनुभव सुनाउँदै कठिन समयमा पनि आफूलाई साथ दिने मतदाता र कार्यकर्ताको गुन तिर्न नसकिने उल्लेख गरे।

विशेषगरी २०७४ सालको निर्वाचन सम्झँदै उनले भने, ‘त्यतिबेला वाम गठबन्धनको भारी लहर थियो, कांग्रेस देशभर खुम्चिएको थियो। तर तपाईंहरूले मलाई विश्वास गरेर संसद् पुर्याउनुभयो। यदि त्यतिबेला संसद् पुगेर काम गर्ने मौका नपाएको भए आज म पार्टीको सभापति भएर उभिन सक्ने थिइनँ।’

यसपटक काठमाडौं-४ को सुरक्षित क्षेत्र छाडेर सर्लाही क्षेत्र नं. ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रने निर्णय आफ्ना लागि भावनात्मक रूपमा निकै कठिन भएको थापाले बताए।

‘यसपटक काठमाडौं मेरा लागि सहज थियो, तर मैले चुनौती मोल्न सर्लाही रोजेको छु,’ सभापति थापाले भावुक हुँदै भने, ‘वर्षौंदेखि सँगै हिँडेका साथीहरू र यो भूगोल छाडेर जाँदा आँसु लुकाउन सकिनँ। मेरो मन रोइरहेको छ, तर पार्टीको बृहत्तर हित र देशको आवश्यकताका लागि यो निर्णय लिएको हुँ।’

सभापतिको रूपमा आफ्नो योजना सुनाउँदै थापाले अब पार्टीमा टिकट वितरणको परम्परागत शैली अन्त्य गर्ने उद्घोष गरे। उनले आगामी स्थानीय तथा प्रदेश सभा निर्वाचनअघि नै १५औं महाधिवेशन सम्पन्न हुने र त्यसपछि ‘प्राइमरी इलेक्सन’ मार्फत वडा तहबाटै उम्मेदवार छानिने बताए।

‘अब कांग्रेसमा टिकटका लागि कुनै पनि आकांक्षीले सभापति वा महामन्त्रीको दैलो धाउनु पर्दैन,’ उनले दृढताका साथ भने, ‘नयाँ पद्धतिअनुसार वडाका साथीहरूले जसलाई रोज्छन्, उसैले टिकट पाउनेछ। नेतृत्वले कसैलाई लाद्ने दिन अब सकिए।’

कार्यक्रममा सभापति थापाले निर्वाचन परिचालन मूल समितिको घोषणा गर्दै पार्टीका सम्पूर्ण तह र तप्कालाई चुनावी तयारीमा जुट्न निर्देशन समेत दिए।

माघ १७, २०८२ शनिबार ११:५६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।