‘म केही दिनमा मरिहाल्छु डाक्टरसाप!’, ती बंगलादेशी बिरामीको बोलीले बदलिएको डा. रजनीको चिकित्सकीय यात्रा
जनकपुरको एउटा मध्यमवर्गीय परिवारमा हुर्किएकी एउटी बालिका, जसले चक र डटपेनले घरका भित्ताहरूमा आफ्नो नामको अगाडि ‘डाक्टर’ लेख्दै भविष्यको नक्सा कोरेकी थिइन्, आज उनी हजारौँ बिरामीको आशाको केन्द्र बनेकी छन्।
विद्यालयमा सधैँ ‘रोल नम्बर १’ बनेकी ती बालिका हुन्- डा. रजनी झा। आज पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सर रोग विशेषज्ञका रूपमा कार्यरत डा. रजनीको चिकित्सकीय यात्रा जति सफल छ, त्यसको पछाडिको सङ्घर्ष उति नै मार्मिक छ।
सेतो एप्रन लगाउने सपना बोकेर १९ वर्षमै बंगलादेश पुगेकी रजनीको जीवनको महत्त्वपूर्ण निर्णय कुनै विश्वविद्यालयको हलमा भन्दा पनि अस्पतालको एउटा बेडमा भयो। मृत्युसँग अन्तिम संघर्ष गरिरहेका एक बंगलादेशी बिरामीको आँसु र पीडाले उनको जीवनको लक्ष्य नै बदलिदियो।
उनै डा. रजनीले चिकित्सक बन्ने क्रममा अनि अभ्यासका क्रममा देखेभोगेका अनुभव उकेरासँग साटेकी छन्:
जनकपुरकी ‘सेलिब्रिटी’ विद्यार्थी र बाल्यकाल
धनुषाको जनकपुरधाममा वि.सं. २०४८ सालमा रजनी झाको जन्म भयो। बुवा सरकारी सेवामा कार्यरत र आमा गृहिणी। घरको वातावरण शिक्षित र अनुशासित थियो, जसले रजनीको बाल मस्तिस्कमा शिक्षाको महत्त्व गहिरोसँग छरिदियो।
स्थानीय ‘डिफोडिल्स पब्लिक स्कुल’ मा उनले अक्षरारम्भ गरिन्। कक्षाकोठामा उनी केवल एक विद्यार्थी थिइनन्, उनी ‘रोल नम्बर १’ थिइन्। यो परिचय उनको पर्याय नै बनिसकेको थियो।

परीक्षा आउनु पर्थ्यो, नतिजाको शीर्ष स्थानमा रजनीकै नाम हुन्थ्यो। हरेक विषयमा ९० प्रतिशतभन्दा बढी अङ्क ल्याउनु उनको बानी नै परिसकेको थियो। पढाइमा मात्र सीमित नभई खेलकुद र विद्यालयका अन्य अतिरिक्त क्रियाकलापमा पनि उनको सहभागिता उस्तै जोशिलो हुन्थ्यो।
विद्यालयमा विरलै गयल हुने, शिक्षकले पढाएको कुरा ध्यान दिएर सुन्ने र नजानेका साथीहरूलाई सिकाउने उनको सहयोगी स्वभाव थियो। यही स्वभावले गर्दा उनी विद्यालयमा सबैकी प्रिय थिइन्, एक किसिमले उनी विद्यालयकी ‘सेलिब्रिटी’ नै थिइन्।
यद्यपि, स्वभावले उनी अलि कम बोल्ने तर काम र नतिजाले जवाफ दिने बानी सानैदेखि विकास भएको थियो।
वि.सं. २०६२ सालमा उनले एसएलसी परीक्षा दिइन्। सधैँ ९० प्रतिशतको सेरोफेरोमा नतिजा ल्याउने रजनीले एसएलसीमा ‘७८.७५’ प्रतिशत अङ्क प्राप्त गरिन्।
विद्यालय टप त गरिन्, तर आफूले अपेक्षा गरेअनुसारको अङ्क नआउँदा त्यो कलिलो मनमा खुसीसँगै केही निराशा पनि छायो। तर, त्यो निराशा क्षणिक थियो, किनकि भविष्यको ठूलो ढोका खुल्न बाँकी नै थियो।
भित्तामा कोरेको सपना र काठमाडौंको यात्रा
एसएलसीपछिको अध्ययनका लागि उनी मोफसलबाट राजधानी काठमाडौं हानिइन्। नयाँ बानेश्वरस्थित ‘हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेज’ मा विज्ञान संकायमा भर्ना भइन्। यहाँ पनि उनको मेधावी क्षमताले साथ छोडेन, उनी पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाइन्।
रजनीको डाक्टर बन्ने सपना भने कलेज आएपछि पलाएको होइन। यो त त्यो बेलादेखिको सपना हो, जतिबेला उनी कक्षा २ वा ३ मा पढ्थिन्। सानो छँदा चक वा डटपेन भेट्नासाथ उनी घरको भित्ता वा पर्खालमा आफ्नो नाम लेख्थिन्- ‘डा. रजनी झा’।
नामको अगाडि ‘डा.’ उपमा जोड्दा उनलाई असीम आनन्द आउँथ्यो। कोही आइहाले वा कसैले देखिहाले लाजले भुतुक्क हुँदै तुरुन्तै मेटाउँथिन्।
भित्तामा लेख्ने र मेटाउने त्यो खेलले नै उनको अवचेतन मनमा चिकित्सक बन्ने दृढ सङ्कल्पको बीजारोपण गरिसकेको थियो। प्लस-टु सकिँदा नसकिँदै उनले त्यही बाल्यकालको सपनालाई पछ्याउने निधो गरिन्।
१९ वर्षे ठिटीको बंगलादेश यात्रा
चिकित्सा शास्त्र (एमबीबीएस) अध्ययन गर्नु चानचुने कुरा थिएन। कडा परिश्रम र तीब्र प्रतिस्पर्धा पार गर्नुपर्थ्यो। रजनीले तयारी गरिन्, छनोट परीक्षा दिइन् र सरकारी छात्रवृत्तिमा नाम निकाल्न सफल भइन्।
सन् २००९ मा, जतिबेला उनी भर्खर १९ वर्षकी थिइन्, परिवार र देश छोडेर एमबीबीएस पढ्न बंगलादेश उडिन्। बंगलादेशको सिलेटस्थित ‘सिलेट एमएजी ओस्मानी मेडिकल कलेज’ उनको नयाँ गन्तव्य बन्यो।

बिरानो देश, नयाँ भाषा र चिकित्सा शास्त्रको कठिन पढाइ। तर, रजनी लक्ष्य जसरी पनि डाक्टर बन्नु थियो। सन् २०१४ मा उनले एमबीबीएसको अध्ययन सफलतापूर्वक पूरा गरिन्। त्यसपछि सोही मेडिकल कलेजमा एक वर्षे इन्टर्नसिपको यात्रा सुरु भयो।
इन्टर्नसिपका दिनहरू डा. रजनीका लागि किताबी ज्ञानलाई व्यवहारमा उतार्ने अवसर थियो।
मेडिसिन, क्यान्सर, प्रसूति तथा स्त्रीरोग, बालरोग जस्ता विभिन्न विभागमा काम गर्दा उनले धेरै कुरा नजिकबाट नियाल्न पाइन्। विशेषतः उनलाई ‘मेडिसिन’ विभागमा गहिरो रुचि थियो। नयाँ रोगको पहिचान गर्ने र चुनौतीहरूसँग जुध्ने उनको स्वभावले उनलाई सधैँ जिज्ञासु बनाइराख्थ्यो।
सानैदेखि मैथिली भाषा बोल्ने भएकाले उनलाई बंगाली भाषा सिक्न धेरै समय लागेन। भाषामा पोख्त भएपछि उनले स्थानीय बिरामीहरूसँग सजिलै संवाद गर्न थालिन्।
बिरामीहरू आफ्नै भाषामा डाक्टरले कुरा गरेको सुन्दा खुसी हुन्थे, आफ्ना पीडा र व्यथा खुलेर राख्थे। डा. रजनी लामो समयसम्म बिरामीको छेउमा बसेर उनीहरूको कुरा सुन्थिन्। सिनियर डाक्टरहरूले पनि उनको यो लगनशीलता र बिरामीप्रतिको समर्पण देखेर विश्वास गर्न थालेका थिए।
जीवनको मोड बदल्ने त्यो ‘टर्निङ पोइन्ट’
इन्टर्नसिपका क्रममा एउटा यस्तो घटना घट्यो, जसले डा. रजनीको मुटुमा गहिरो घाउ मात्र बनाएन, उनको भविष्यको बाटो नै तय गरिदियो।
त्यसबेला उनको ड्युटी क्यान्सर वार्डमा थियो। त्यहाँ करिब ४५ वर्षका एक बंगाली पुरुष पेटको आन्द्राको क्यान्सरले थलिएर भर्ना भएका थिए। पेशाले रिक्सा चालक ती बिरामी अति विपन्न परिवारका थिए।
घरमा वृद्ध आमाबुवा, श्रीमती, दुई साना छोरी र एक छोरा थिए। परिवारको पालनपोषण गर्ने मुख्य खम्बा नै ढलेपछि त्यो परिवारमा अन्धकार छाएको थियो।
रोगले शरीर गलाउँदै लगेको थियो। उनलाई खाना रुच्दैनथ्यो। तर, विडम्बना कस्तो भने, खाना नरुचेकोमा उनी दुखी हुनुको साटो ‘खाना नरुचेपछि पैसा जोगियो’ भन्दै क्षणिक खुसी व्यक्त गर्थे। गरिबीको त्यो पराकाष्ठा र विवशताले डा. रजनीलाई भित्रैदेखि झस्कायो।
एक दिन, अस्पतालको बेडमा मृत्युसँग लडिरहेका ती पुरुषले डा. रजनीलाई हेर्दै गहभरि आँसु पारेर बंगालीमै भने, ‘डाक्टरसाब, अब त म केही दिनमा मरिहाल्छु होला। म त मरेर जान्छु, तर मेरी श्रीमती र ती लालाबाला छोराछोरीको हालत के होला!’
यो वाक्यले डा. रजनीको मनमा ठूलो हलचल ल्यायो। उनी भावुक बनिन्, स्तब्ध भइन्। उनलाई लाग्यो- ‘के क्यान्सर यतिसम्म निष्ठुर हुन्छ? के यसको उपचार गरेर मान्छे बचाउनै सकिँदैन?’
उनले ती बिरामीलाई बचाउन सम्भव भएसम्मका प्रयासहरू गरिन्। शल्यक्रिया भयो, किमोथेरापी चल्यो। तर, रोगले धेरै नै गाँजिसकेको थियो। अन्त्यमा, डाक्टरहरूको अथक प्रयासका बाबजुद ती पुरुषले सदाका लागि आँखा चिम्लिए।
ती ४५ वर्षीय पुरुषको मृत्युले डा. रजनीलाई धेरै रात सुत्न दिएन। ती मृतकका परिवारको बिचल्ली हुने अवस्था सम्झेर उनको मन पोलिरह्यो। त्यही पीडादायी क्षणमा उनले एउटा अठोट गरिन्– ‘म अब क्यान्सर रोगकै विषयमा थप अध्ययन गर्छु। यो रोगलाई जित्ने उपायहरू खोज्छु।’
त्यही घटना नै उनले भविष्यमा ‘अंकोलोजिष्ट’ बन्ने निर्णयको आधारशिला बन्यो।
फेरि बंगलादेश र एमडीको यात्रा
सन् २०१५ मा नेपाल फर्किएपछि उनले केही समय काठमाडौंको ओम अस्पतालमा बालरोग विभागमा काम गरिन्। तर, मनमा क्यान्सर विषय पढ्ने हुटहुटी बाँकी नै थियो। उनले स्नातकोत्तर (एमडी) का लागि तयारी गरिन् र पुनः सरकारी छात्रवृत्तिमा नाम निकालिन्। संयोग कस्तो भने, उनले एमडी पढ्ने अवसर पनि बंगलादेशमै पाइन्।

सन् २०१८ मा उनी ‘बंगलादेश मेडिकल युनिभर्सिटी’ ढाकामा भर्ना भइन्। उनको रोजाइ र संयोग दुवै मिलेर एमडीको विषय ‘मेडिकल अंकोलोजी’नै पर्यो। बंगलादेशमा एमडी अध्ययन गर्दा पनि उनी आफ्नो ब्याचको टपर बनिन्। उमेरले कान्छी भए पनि बौद्धिकता र मेहनतमा उनी सबैभन्दा अगाडि रहिन्।
सन् २०२३ मा पाँच वर्षे एमडी सकेर उनी नेपाल फर्किइन्। यसरी उनी नेपालमा मेडिकल अंकोलोजी विषयमा एमडी गर्ने कान्छो उमेरका सिमित चिकित्सकहरूको सूचीमा दरिन पुगिन्।
स्वदेशमा सेवा र अन्तर्राष्ट्रिय पहिचान
नेपाल फर्किएपछि उनले भक्तपुरको ताथलीस्थित ‘काठमाडौं क्यान्सर सेन्टर’ मा आफ्नो सेवा सुरू गरिन्। त्यहाँ उनले करिब दुई वर्ष कन्सल्टेन्ट मेडिकल अंकोलोजिष्टका रूपमा काम गरिन्। आफ्नो दक्षतालाई अझ निखार्न उनले कहिल्यै कञ्जुस्याइँ गरिनन्।
उनको मेहनतको कदर स्वरूप उनले ‘युरोपियन सोसाइटी अफ मेडिकल अंकोलोजी (इस्मो)’ बाट उपाधि प्राप्त गरिन्।
साथै, विश्वकै उत्कृष्ट क्यान्सर अस्पताल मानिने अमेरिकाको ‘एमडी एन्डरसन क्यान्सर सेन्टर’ बाट रक्त क्यान्सर (ल्युकेमिया) सम्बन्धी फेलोसिप गर्ने अवसर समेत पाइन्। यी उपलब्धिहरूले उनको चिकित्सकीय क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गरिसकेका छन्।
गत मंसिरमा लोकसेवा आयोगको कडा प्रतिस्पर्धा पास गर्दै उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा नवौं तहको स्थायी जागिरे भइन्। हाल उनी त्यहाँ सहायक प्राध्यापक र मेडिकल अंकोलोजिष्टका रूपमा कार्यरत छिन्।
क्यान्सर भयो भन्दै नआत्तिनु है!
बिरामीको चेकजाँच, विद्यार्थीलाई पढाउने जिम्मेवारी र नयाँ अनुसन्धानमा व्यस्त रहने डा. रजनीको दैनिकी अहिले निकै व्यस्त छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्ना कार्यपत्र प्रस्तुत गर्दै उनी नेपालको चिकित्सा क्षेत्रको प्रतिनिधित्व गरिरहेकी छिन्।

तर, यी सबै उपलब्धिका बाबजुद उनी जनचेतनालाई नै सबैभन्दा ठूलो उपचार मान्छिन्। उनी भन्छिन्, ‘क्यान्सर भयो भन्दैमा आत्तिहाल्नुपर्दैन। यो मृत्युको परवाना होइन। यदि समयमै रोग पत्ता लाग्यो र सही उपचार भयो भने क्यान्सर पूर्ण रूपमा निको हुन्छ।’
आज पनि उनको आँखामा तिनै रिक्सा चालक बिरामीको तस्बिर झल्झली आउँछ। तिनै बिरामीको आँसुले कोरेको बाटोमा हिँड्दै डा. रजनी आज सयौँ क्यान्सर पीडितहरूको मुहारमा मुस्कान फर्काउन तल्लीन छिन्।
माघ १७, २०८२ शनिबार ११:१५:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।