निर्वाचन आचारसंहिता पालनामा आयोगको कडाइ : ३०२ हानिकारक सूचनामाथि कारबाही, २१ जनालाई स्पष्टीकरण

निर्वाचन आचारसंहिता पालनामा आयोगको कडाइ : ३०२ हानिकारक सूचनामाथि कारबाही, २१ जनालाई स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आचारसंहिता कार्यान्वयनमा कडाइ गरेको छ।

आचारसंहिता उल्लङ्घनका घटना नियन्त्रण गर्न आयोगले अनुगमनलाई तीव्रता दिएको हो। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी र जानकारीका आधारमा आयोगले हालसम्म राजनीतिक दल, उम्मेदवार र विभिन्न संस्था गरी २१ पक्षलाई स्पष्टीकरण सोधेको छ।

सोधिएका स्पष्टीकरणमध्ये ५ वटाको मात्र जवाफ प्राप्त भएको र बाँकीका लागि ताकेता भइरहेको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, निर्वाचनको समयमा मिथ्या, भ्रमपूर्ण र घृणास्पद अभिव्यक्ति दिने तथा गैरकानुनी कार्य गर्ने व्यक्ति वा संस्थालाई कानुनी दायरामा ल्याउन नियामक निकायहरूसँगको सहकार्यमा निगरानी बढाइएको छ।

आयोगको ‘निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र’ अन्तर्गत रहेको ‘सूचना सदाचार प्रवर्द्धन इकाइ’ पूर्ण रूपमा सक्रिय बनाइएको छ। उक्त इकाइले सामाजिक सञ्जाल र अन्य माध्यममा प्रवाह भएका ३०२ वटा हानिकारक सूचना पत्ता लगाएको छ।

ती सामग्रीलाई निर्वाचन आचारसंहिता-२०८२, विद्युतीय कारोबार ऐन-२०६३ र प्रेस काउन्सिल ऐन-२०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रवक्ता भट्टराईले जानकारी दिए।

निर्वाचनको मर्यादा र स्वच्छतामा प्रश्न उठ्ने गरी कुनै गतिविधि भएमा आयोग, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय वा जिल्ला आचारसंहिता अनुगमन अधिकृत समक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले स्पष्ट पारेको छ ।

माघ १७, २०८२ शनिबार ०९:३०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।