अमेरिकाले जेफ्री एपस्टिनसँग जोडिएका लाखौँ नयाँ फाइल सार्वजनिक गर्यो; ट्रम्प र बिल गेट्सको पनि चर्चा

अमेरिकाले जेफ्री एपस्टिनसँग जोडिएका लाखौँ नयाँ फाइल सार्वजनिक गर्यो; ट्रम्प र बिल गेट्सको पनि चर्चा

एजेन्सी : अमेरिकी न्याय विभागले शुक्रबार यौन दुराचारी जेफ्री एपस्टिनसँग सम्बन्धित लाखौँ नयाँ फाइलहरू सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएका विवरणहरूमा ३० लाख पाना कागजात, १ लाख ८० हजार तस्बिर र दुई हजार भिडियोहरू रहेका छन्। यसअघि गत वर्षको डिसेम्बरमा पनि हजारौँ पानाका दस्तावेजहरू सार्वजनिक गरिएका थिए।

जेफ्री एपस्टिनको मृत्यु भइसकेको छ। नयाँ सार्वजनिक भएका कागजातमा एपस्टिनले जेलमा बिताएको समयको विवरण समावेश छ।

साथै, एपस्टिनकी सहयोगी गिलेन म्याक्सवेलमाथि भएको अनुसन्धानका रेकर्डहरू पनि यसमा छन्। म्याक्सवेललाई नाबालिग किशोरीहरूको बेचबिखनमा मद्दत गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

यी फाइलहरूमा एपस्टिन र विभिन्न उच्च पदस्थ व्यक्तिहरू (हाई-प्रोफाइल सेलिब्रेटी) बीच भएका इमेल आदानप्रदानहरू पनि समेटिएका छन्।

ट्रम्पको नाम सयौँ पटक उल्लेख
सार्वजनिक नयाँ दस्तावेजहरूमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम सयौँ पटक उल्लेख गरिएको छ।

यद्यपि, ट्रम्पले एपस्टिनका यौन अपराधबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै आएका छन्। एपस्टिनका पीडितहरूले पनि ट्रम्पमाथि कुनै अपराधको आरोप लगाएका छैनन्।

नयाँ कागजातमा ट्रम्पमाथि लागेका आरोपबारे सोधिएको प्रश्नमा न्याय विभागले प्रतिक्रिया दिँदै भनेको छ, ‘केही कागजातहरूमा राष्ट्रपति ट्रम्पविरुद्ध झुटा र सनसनीपूर्ण दाबीहरू छन्, जुन २०२० को चुनाव हुनुभन्दा ठीक अघि एफबीआईलाई बुझाइएको थियो।’

विभागले अगाडि भनेको छ, ‘स्पष्ट रूपमा यी दाबीहरू आधारहीन र झुटा छन्। यदि यसमा थोरै पनि सत्यता हुन्थ्यो भने, पक्कै पनि यसको प्रयोग राष्ट्रपति ट्रम्पविरुद्ध पहिले नै भइसक्थ्यो।’

नयाँ फाइलहरूमा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्समाथि पनि सनसनीपूर्ण आरोपहरू लागेका छन्। यद्यपि, बिल गेट्सका प्रवक्ताले यी आरोपहरूलाई ‘पूर्ण रूपमा हास्यास्पद र सरासर झुटो’ भन्दै खण्डन गरेका छन्।

माघ १७, २०८२ शनिबार ०८:४२:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।