मिसन पुस्तान्तरण-९ : इन्जिनियरिङ र टेलिभिजन होस्टिङ छाडेर झापाबाट संसदीय दौडमा उत्रिएका ४० वर्षीय अशेष

मिसन पुस्तान्तरण-९ : इन्जिनियरिङ र टेलिभिजन होस्टिङ छाडेर झापाबाट संसदीय दौडमा उत्रिएका ४० वर्षीय अशेष

काठमाडौं : २०२८ सालको ‘झापा विद्रोह’ नेपालको कम्युनिष्ट आन्दोलनको प्रस्थानबिन्दु मानिन्छ। भारतको नक्सलवाडी विद्रोहको प्रभावमा झापाबाट सल्किएको त्यो आगो नै कालान्तरमा एमाले पार्टी निर्माणको जग बन्यो।

कम्युनिष्ट राजनीतिको यही उर्वर भूमिमा दलहरू बन्ने, फुट्ने र जुट्ने शृङ्खला दशकौंदेखि जारी छ। २०७५ मा एमाले र माओवादी केन्द्र मिलेर नेकपा बने पनि त्यो लामो समय टिक्न सकेन। २०७७ पुसमा दलहरू पूर्ववत अवस्थामा फर्किए। एमाले विभाजित भएर एकीकृत समाजवादी बन्यो।

पछिल्लो समय राजनीतिमा अर्को ठूलो हलचल आयो। भदौ २३/२४ को जेनजी आन्दोलनले केपी ओलीको सत्ता मात्र ढलेन, २०८४ को चुनाव २०८२ मै आइपुग्यो।

नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको मुख्य मुद्दा बोकेको यो आन्दोलनपछि कात्तिक २० गते माओवादी र समाजवादीबीच एकता भई ‘नेपाली कम्युनिष्ट पार्टी’ बनेको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यही नवगठित पार्टीले ४० वर्ष मुनिका ११ जना युवालाई चुनावी मैदानमा उतारेको छ। तिनै युवामध्ये एक हुन्- ४० वर्षीय इन्जिनियर अशेष घिमिरे। कम्युनिष्टहरूको गढ मानिने झापा क्षेत्र नम्बर १ बाट उनी पहिलो पटक संसदीय परीक्षामा होमिएका छन्।

को हुन् अशेष घिमिरे ?
बाहुनडागीको सामान्य शिक्षक परिवारमा जन्मिएका घिमिरेको बाल्यकाल गाउँमै बित्यो। स्थानीय विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि उनी विराटनगर झरे।

झापा र मोरङको वामपन्थी माहोलले उनलाई पनि छोयो, जसले गर्दा उनी एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुप्रति आकर्षित भए।

२०५४ सालबाट विद्यार्थी राजनीति सुरू गरेका घिमिरेले भक्तपुरको ख्वप इन्जिनियरिङ कलेजमा पढ्दा विद्यार्थी परिषद्को अध्यक्ष भएर नेतृत्व कौशल देखाए। २०६० सालमा पार्टी सदस्यता लिएका उनी २०६२/०६३ को जनआन्दोलनमा अग्रमोर्चामा खटिएका थिए।

‘इन्जिनियरिङ पढ्दापढ्दै म आन्दोलनमा होमिएँ। अध्ययन र राजनीतिलाई सँगै अगाडि बढाए,’ घिमिरे सम्झन्छन्, ‘विद्यार्थी परिषद्को नेतृत्व गरेपछि संगठनमा मेरो अलग पहिचान बन्यो।’

२०६५ सालमा इन्जिनियरिङ सकेपछि उनी अनेरास्ववियुको १८औं र १९औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित हुँदै २०७२ सम्म केन्द्रीय कमिटीमा रहे। यसक्रममा उनले प्रचार-प्रसार विभाग प्रमुखको जिम्मेवारी पनि सम्हाले।

इन्जिनियरिङ पढे पनि राजनीतिप्रतिको लगावले उनलाई राजनीतिशास्त्रमा स्नातकोत्तर गरायो। उनी हाल राजनीतिशास्त्रमै एमफिल गर्दैछन्।

पार्टी एकतापछि बनेको नेकपामा उनी कोशी प्रदेश कमिटी सदस्य थिए। तर, ठोस जिम्मेवारी नपाउँदा उनले केही समय टेलिभिजन पर्दामा बिताए। उनले जनता टेलिभिजनमा चलाएका ‘किताबका कुरा’ र ‘द भ्यू’ जस्ता वैचारिक कार्यक्रमहरू दर्शकमाझ परिचित थिए।

प्रतिगमन विरुद्धको लडाइँ र उम्मेदवारी
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा घिमिरे सडकमा चर्को नारा लगाइरहेका भेटिन्थे। ‘दुई तिहाइको कम्युनिष्ट सरकारले संसद विघटन गर्नु प्रतिगमन थियो। त्यसले समाजमा ल्याउने निराशालाई चिर्न हामीले निरन्तर खबरदारी गर्यौँ,’ उनी भन्छन्।

नेकपाको विभाजनपछि उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागे। पार्टीको १०औं महाधिवेशनबाट पोलिटब्युरो सदस्य र केन्द्रीय स्कुल विभाग सचिवको जिम्मेवारी सम्हालेका घिमिरे, अहिले माओवादी-समाजवादी एकताबाट बनेको ‘नेपाली कम्युनिष्ट पार्टी’ का तर्फबाट उम्मेदवार बनेका छन्।

जेन-जी आन्दोलनको बलमा तोकिएको निर्वाचन ‘कसरी रोकिन्छ र?’ भन्ने प्रश्नलाई चिर्दै दलहरू प्रचारमा होमिएका छन्। झापा-१ मा ६५ हजार ८ सय ५८ पुरुष र ६५ हजार २ सय ९ महिला मतदाता छन् भने दुई स्वतन्त्रसहित १५ जना उम्मेदवार छन्।

यहाँ कांग्रेसबाट केशव राज पाण्डे, एमालेबाट रामचन्द्र उप्रेती उम्मेदवार बन्दा रास्वपाबाट २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कान्छी सांसदको रुपमा संसद प्रवेश गरेकी निशा डाँगी मैदानमा छन्।

यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा झापा-१ मा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जित हात पारेका थिए। उनले ३९ हजार ६२४ मत ल्याएर विजयी हुँदा उनका  निकटतम प्रतिस्पर्धी एमालेका अग्निप्रसाद खरेलले २५ हजार ३४९ मत ल्याएका थिए।

त्यसअघि २०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा बाम गठबन्धन गरेर चुनावी मैदानमा होमिएको एमाले र माओवादीको गठबन्धनका तर्फबाट माओवादी केन्द्रका राम कार्कीले ३६ हजार १७३ मत ल्याउँदा नेपाली कांग्रेस एक्लै लड्दा विश्वप्रकाश शर्माले ३३ हजार ३१० मत पाएका थिए।

यसरी हेर्दा पछिल्ला दुई निर्वाचनमा झापा-१ कम्युनिष्टका लागि रेड जोन नै साबित भएको छ। एमालेसँग मिलेर बाम गठबन्धन गर्दा पनि २०७४ को प्रतिनिधि सभा निर्वाचनमा राम कार्कीले मात्र २ हजार ८ सय ८३ मतले विजयी भएका थिए।

०००

भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।

हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार-प्रसार सुरू भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।

जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरू गरेको हो।

मिसन पुस्तान्तरणका यसअघिका समाचार:

माघ १७, २०८२ शनिबार ०८:१७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।