जापान जाँदै राष्ट्रपति पौडेल

जापान जाँदै राष्ट्रपति पौडेल

काठमाडौं : नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आगामी माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणमा जाने भएका छन्।

जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यो भ्रमण मुख्यतः दुई देशबीचको ऐतिहासिक सम्बन्धको उत्सव मनाउनमा केन्द्रित रहनेछ।

परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार राष्ट्रपति पौडेल फेब्रुअरी १ तारिखको राति नेपाल वायुसेवा निगमको जहाजमार्फत टोकियो प्रस्थान गर्नेछन्।

भ्रमण दलमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीसहित करिब १५ जना सहभागी हुनेछन्।

फेब्रुअरी २ मा टोकियो पुगेपछि राष्ट्रपतिले जापानका विदेश राज्यमन्त्रीसँग शिष्टाचार भेट गर्नेछन्।

सोही दिन उनले जापानी व्यापारिक समुदायलाई सम्बोधन गर्नुका साथै ७०औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने औपचारिक स्वागत समारोहमा सहभागिता जनाउनेछन्।

फेब्रुअरी ३ मा राष्ट्रपति पौडेलले जापानी सम्राट नारुहितो र प्रधानमन्त्रीसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

सोही दिन साँझ टोकियोस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा उनले नेपाली तथा जापानी समुदायलाई सम्बोधन गर्नेछन्।

फेब्रुअरी ४ मा चार दिने भ्रमण पूरा गरी राष्ट्रपति पौडेल स्वदेश फर्किनेछन्।

यसपटकको भ्रमण उत्सव र सम्बन्ध नवीकरणमा मात्र केन्द्रित रहने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ। भ्रमणका क्रममा कुनै पनि नयाँ सन्धि, सम्झौता वा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छैन।

उच्चस्तरीय भेटघाटले दुई देशबीचको दशकौं लामो मित्रतालाई थप प्रगाढ बनाउने परराष्ट्र मन्त्रालयको विश्वास छ।

विशेष गरी नेपालमा लगानीको चासो राख्ने जापानी लगानीकर्ताहरूको समूहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेकाले आगामी दिनमा निजी क्षेत्रको लगानी र सहयोगमा वृद्धि हुने अपेक्षा सरकारले गरेको छ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। जापान नेपालको एक प्रमुख विकास साझेदार राष्ट्र हो, जसले पूर्वाधार, शिक्षा, स्वास्थ्य, र विपद् व्यवस्थापनका क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै आएको छ।

यो भ्रमणले दुई देशबीचको जनस्तरको र सरकारी स्तरको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने देखिन्छ।

माघ १६, २०८२ शुक्रबार १४:२८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।