अमेरिकामा इरानी अधिकारी र उनीहरूका परिवारको बस्न दिइएको विशेष अधिकार खारेज

अमेरिकामा इरानी अधिकारी र उनीहरूका परिवारको बस्न दिइएको विशेष अधिकार खारेज

एजेन्सी : अमेरिकी विदेश मन्त्रालयले इरानका वरिष्ठ अधिकारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई अमेरिकामा बस्न दिइएको विशेष सुविधा अन्त्य गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।

‘इरानी जनता आफ्ना आधारभूत अधिकारका लागि संघर्ष गरिरहेको बेला अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वरिष्ठ इरानी अधिकारी र उनीहरूका परिवारको निवास अधिकार रद्द गर्ने कदम चाल्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ।

विदेश मन्त्रालयले थप स्पष्ट पार्दै भनेको छ, ‘इरानी शासनको क्रूर दमनबाट फाइदा उठाइरहेका व्यक्तिहरूलाई हाम्रो देशको अध्यागमन व्यवस्थाबाट लाभ लिने कुनै अधिकार छैन।’

यसै नीति अन्तर्गत, गत हप्ता अमेरिकाको एट्लान्टास्थित एमोरी विश्वविद्यालयले इरानको ‘सुप्रिम नेशनल सेक्युरिटी काउन्सिल’का सचिव अली लारीजानीकी छोरीलाई निष्कासन गरेको छ। विश्वविद्यालयका एक प्राध्यापकले बीबीसी पर्सियनलाई यसको पुष्टि गरेका छन्।

निष्कासित भएकी फातिमा अर्देशिर लारीजानी सो विश्वविद्यालयको क्यान्सर अनुसन्धान विभागमा कार्यरत थिइन्। इरानको दमनकारी शासनसँग जोडिएका उच्च पदस्थ व्यक्तिका परिवारमाथि अमेरिकाले पछिल्लो समय कडा निगरानी र कारबाही बढाएको छ।

माघ १६, २०८२ शुक्रबार १२:२६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।