अमेरिकामा फेरि ‘सटडाउन’को खतरा, अध्यागमन नीतिको विवादले सरकारी कामकाज ठप्प हुनसक्ने

अमेरिकामा फेरि ‘सटडाउन’को खतरा, अध्यागमन नीतिको विवादले सरकारी कामकाज ठप्प हुनसक्ने

एजेन्सी : अमेरिकामा आगामी जनवरी ३० तारिखदेखि फेरि एकपटक आंशिक सरकारी कामकाज ठप्प (सटडाउन) हुने खतरा बढेको छ।

आन्तरिक सुरक्षा विभाग (होमल्याण्ड सेक्युरिटी) को बजेटलाई लिएर विपक्षी दल ‘डेमोक्र्याट्स’ले कडा अडान लिएपछि यो संकट निम्तिएको हो।

डेमोक्र्याट पार्टीका नेताहरूले ‘इमिग्रेशन एन्ड कस्टम्स एनफोर्समेन्ट’ एजेन्सीको कार्यशैलीमा सुधार नभएसम्म बजेट पारित गर्न नदिने बताएका छन्।

मिनेसोटामा एक नर्स एलेक्स प्रेटीको मृत्यु भएपछि संघीय एजेन्टहरू (जसलाई ट्रम्पको प्रहरी पनि भनिन्छ) विरुद्ध आक्रोश चर्किएको छ।

सिनेटमा डेमोक्र्याटका नेता चक शुमरले ट्रम्प प्रशासनको अध्यागमन नीति अब सहन नसकिने बताएका छन्।

उनले गृह सुरक्षा विभागको करिब ७५ अर्ब डलरको बजेटलाई अन्य सरकारी निकायको बजेटबाट छुट्टै राख्न माग गरेका छन्।

यसो गर्दा अन्य विभागको काम नरोकिने र यो विषयमा मात्र छुट्टै छलफल गर्न सकिने उनको तर्क छ। तर, सत्तापक्ष ‘रिपब्लिकन’हरू यो माग मान्न तयार छैनन्।

ठिक दुई महिनाअघि पनि स्वास्थ्य अनुदानको विषयलाई लिएर विवाद हुँदा अमेरिकामा ४३ दिन लामो ‘सटडाउन’ भएको थियो, जुन इतिहासकै सबैभन्दा लामो थियो।

त्यसबेला हजारौं हवाई उडानहरू प्रभावित भएका थिए र सरकारी कर्मचारीले तलब पाएका थिएनन्।

यसपटकको संकट टार्न ह्वाइट हाउसले केही डेमोक्र्याट सांसदहरूलाई वार्ताका लागि बोलाएको थियो, तर उनीहरूले छलफलमा बस्न अस्वीकार गरिदिएका छन्।

यदि जनवरी ३० सम्म सहमति नभए अमेरिकामा फेरि सरकारी कार्यालयहरू बन्द हुनेछन्।

माघ १६, २०८२ शुक्रबार १०:४१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।