तीन दिनमै भाइरल बनेर नामै परिवर्तन गर्नुपरेको एआई ‘मोल्टबोट’

तीन दिनमै भाइरल बनेर नामै परिवर्तन गर्नुपरेको एआई ‘मोल्टबोट’

एजेन्सी : केवल तीन दिनको अवधिमा एउटा ‘ओपन-सोर्स’ एआई असिस्टेन्ट ‘क्लडबोट’ भाइरल बन्यो, विवादमा फस्यो र अन्ततः ‘मोल्टबोट’को नाममा फेरि उदायो।

च्याट मात्र गर्ने होइन, कम्प्युटरमा साँच्चिकै काम गरिदिने दाबीसहित आएको यो एआई असिस्टेन्ट छोटो समयमै चर्चाको शिखरमा पुग्यो।

तर, यसको यात्रा निकै उतारचढावपूर्ण रह्यो। क्रिप्टो स्क्यामरहरूले अकाउन्ट ह्याक गरे, एआई कम्पनी ‘एन्थ्रोपिक’ले ट्रेडमार्कको मुद्दा उठायो र यसका संस्थापक पिटर स्टेनबर्गरले गल्तीवश आफ्नो गिटहब ह्यान्डल नै गुमाउन पुगे।

मोल्टबोट एक त्यस्तो एआई असिस्टेन्ट हो, जसले मानिसजस्तै तपाईंसँग कुराकानी मात्र गर्दैन, तपाईंको कम्प्युटरमा रहेका कामहरू पनि फत्ते गरिदिन्छ।

अस्ट्रियाका विकासकर्ता पिटर स्टेनबर्गरले बनाएको यो एआई ह्वाट्सएप, टेलिग्राम, स्ल्याक, डिस्कर्ड जस्ता प्लेटफर्महरूमा उपलब्ध हुन्छ।

यसको मुख्य विशेषता भनेको यसको स्मरण शक्ति हो। यसले हप्तौंअघिका कुराकानी सम्झिन सक्छ र तपाईंलाई आवश्यक पर्दा सम्झाउन पनि सक्छ।

यदि अनुमति दिइयो भने, यसले आफैँ कमान्ड चलाएर डिजिटल पर्सनल असिस्टेन्टको भूमिका निर्वाह गर्छ।

नाम विवाद र रिब्रान्डिङ
सुरूमा यसको नाम ‘क्लडबोट’ थियो। तर, चर्चित एआई कम्पनी ‘एन्थ्रोपिक’ले आफ्नो एआई ‘क्लड’सँग नाम मिलेको भन्दै आपत्ति जनाएपछि स्टेनबर्गरले यसको नाम परिवर्तन गरी ‘मोल्टबोट’ राखेका हुन्।

नाम परिवर्तन गर्नका लागि नयाँ नाम घोषणा गर्नासाथ स्क्यामरहरूले पुराना ह्यान्डलहरू कब्जा गरेर क्रिप्टोकरेन्सीको प्रचार सुरू गरे।

संस्थापक स्टेनबर्गरले हतारमा आफ्नो व्यक्तिगत गिटहब अकाउन्ट नै रिनेम गर्दा ‘बोट’हरूले उनको पुरानो युजरनेम खोसिदिए। पछि गिटहब र एक्स (ट्विटर)को सहयोगमा उनले समस्या समाधान गरेका थिए।

दीर्घकालीन स्मरण शक्ति, सक्रिय नोटिफिकेसन र इमेल सर्च गर्ने, रिपोर्ट बनाउनेदेखि स्मार्ट होम डिभाइस कन्ट्रोल गर्नेसम्मका काम गर्न सक्ने भएकाले पनि यो यति छिट्टै भाइरल बनेको हो।

यद्यपि, यो अझै विकासको चरणमा छ। प्राविधिक ज्ञान नभएका र साइबर सुरक्षाबारे सचेत नभएका प्रयोगकर्ताका लागि यो चलाउन अलि जटिल हुन सक्ने विज्ञहरूले बताएका छन्।

माघ १५, २०८२ बिहीबार १३:४१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।