मिसन पुस्तान्तरण-७ : शिक्षा सुधार्ने एजेन्डासहित चुनावी मैदानमा काभ्रेका ४० वर्षीय गुणराज
काठमाडौं : काभ्रेपलाञ्चोकलाई अक्सर ‘बत्तीमुनिको अँध्यारो’ भन्ने गरिन्छ। संघीय राजधानी काठमाडौंसँग जोडिएको यो जिल्लाका शहरी इलाकामा जीवनस्तर राम्रो भए पनि ग्रामीण भेगको अवस्था निकै कठिन छ।
विशेषगरी रोशी गाउँपालिकाका तामाङ समुदाय शिक्षा र विकासका पूर्वाधारबाट पछाडि छन्।
उच्च शिक्षा त परको कुरा, आधारभूत शिक्षामा समेत पछाडि परेको यही समुदायको शैक्षिक र सामाजिक उत्थानको आशा बोकेर ४० वर्षीय गुणराज मोक्तान चुनावी मैदानमा उत्रिएका छन्।
रोशी गाउँपालिका वडा नं. १२, शिखरपुरमा जन्मिएका मोक्तान भन्छन्, ‘हामी बच्चा हुँदा घर व्यवहार धान्नै गाह्रो थियो, शिक्षा प्राथमिकतामै पर्दैनथ्यो। तर, जसोतसो पढियो।’
अभाव र सङ्घर्षका बीच हुर्किएका मोक्तान अहिले शिक्षा क्षेत्रको सुधार र राजनीतिक पुस्तान्तरणको नारासहित अघि बढेका छन्।
विद्यार्थी राजनीतिदेखि नीति निर्माणसम्म
सिन्धुलीबाट एसएलसी उत्तीर्ण गरी उच्च शिक्षाका लागि काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पस भर्ना भएका मोक्तान २०५८ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय भए।
द्वन्द्वकालमा समेत गाउँ नछाडेका उनी २०६१ मा नेविसंघ काभ्रे क्षेत्र नं. १ को सभापति निर्वाचित भए र दुई कार्यकाल नेतृत्व सम्हाले।
विद्यार्थी राजनीतिपछि पार्टी राजनीतिमा सक्रिय मोक्तान साविकको भीमखोरी गाउँ इकाई सभापति बने।
नेपाली कांग्रेसको १२औं र १३औं महाधिवेशनमा क्षेत्रीय सचिवको जिम्मेवारी सम्हालेका उनी १४औं महाधिवेशनबाट काभ्रे जिल्ला कार्यसमिति सचिवमा निर्वाचित भए।
राजनीतिसँगै उनी शैक्षिक र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन्।
नाङसाल एसोसियसनको कार्यकारी निर्देशक, विद्यालय व्यवस्थापन महासंघ नेपालको केन्द्रीय अध्यक्ष, बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य र उच्चस्तरीय शिक्षा आयोगको सदस्य भएर उनले काम गरिसकेका छन्।
शैक्षिक विज्ञता र एजेन्डा
गुणराज मोक्तान केवल राजनीतिक कार्यकर्ता मात्र होइनन्, उनी शिक्षा क्षेत्रका विज्ञ पनि हुन्।
सानोठिमी क्याम्पस (त्रिभुवन विश्वविद्यालय)मा आंशिक सह-प्राध्यापकका रूपमा अध्यापन गराउँदै आएका उनको विज्ञता शिक्षाशास्त्रीय र समाजशास्त्रीय शिक्षा, शैक्षिक मनोविज्ञान, पाठ्यक्रम तथा मूल्याङ्कन र अनुसन्धान पद्धतिमा केन्द्रित छ।
उनले बागमती प्रदेशको नीति तथा योजना आयोगमा रही नीति निर्माण, योजना तर्जुमा र अनुगमनमा रणनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका छन्।
‘रूम टु रिड नेपाल’, ‘सेभ द चिल्ड्रेन’ लगायतका संस्थामा रहेर उनले विद्यालयको पठनपाठन सुधार, शिक्षक प्रशिक्षण र बाल केन्द्रित शिक्षामा महत्त्वपूर्ण योगदान पुर्याएका छन्।

हाल विकास अध्ययनमा एमफिल सकेर ‘विद्यालय शासन पद्धति’मा विद्यावारिधि (पीएचडी) गर्दै गरेका मोक्तान भन्छन्, ‘नागरिक शिक्षित नभई समाजको मुहार फेरिँदैन। हाम्रा सभापति गगन थापा ‘नलेज इकोनोमी’ को कुरा गर्नुहुन्छ। म पनि शिक्षा ऐन ल्याउन र शैक्षिक सुधार गर्नकै लागि राजनीतिमा होमिएको हुँ। समाज बदल्न राजनीति बदलिनै पर्छ।’
चुनावी अंकगणित र चुनौती
काभ्रेपलाञ्चोकमा नेपाली कांग्रेसको संगठन बलियो मानिए पनि संघीय निर्वाचनमा वामपन्थी दलहरू हाबी हुँदै आएका छन्।
२०७४ को चुनावमा माओवादी केन्द्रका गंगाबहादुर तामाङ (४३ हजार ६३१ मत) ले कांग्रेसका तीर्थबहादुर लामा (३९ हजार ६०५ मत) लाई पराजित गरेका थिए।
यद्यपि, २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जिल्लाका ७ पालिका जितेर आफ्नो पकड बलियो बनाएको छ। सो निर्वाचनमा कांग्रेसले बनेपा, पनौती, नमोबुद्ध र पाँचखाल नगरपालिका तथा रोशी, तेमाल र बेथानचोक गाउँपालिकामा जित हासिल गरेको थियो।
२०७९ को संघीय चुनावमा कांग्रेसले माओवादीसँग गठबन्धन गरेको थियो, जसमा माओवादीका सूर्यमान तामाङ विजयी भएका थिए। समानुपातिक मततर्फ एमालेको २४ हजार ७९ मत रहँदा कांग्रेसको २१ हजार ७५५ र माओवादीको १७ हजार ३३५ मत रहेको तथ्यांक छ।
यसपटकको चुनावमा मोक्तानको प्रतिस्पर्धा एमाले र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारहरूसँग हुनेछ। एमालेबाट ४४ वर्षीय अमी तामाङ र नेकपाबाट ६२ वर्षीय दिननाथ गौतम मैदानमा छन्।
०००
भदौ २३-२४ को जेनजी आन्दोलनको मागहरूमध्ये प्रमुख थियो- पुस्तान्तरण र नेतृत्व हस्तान्तरण। त्यसैको बलमा सत्ता बदलियो र २०८४ मा हुने निर्वाचन २०८२ मा आइपुग्यो।
हुन्छ कि हुन्न भन्ने अन्योलकाबीच प्रत्यक्षतर्फको उम्मेदवारी दर्तासँगै प्रचार-प्रसार सुरू भइसक्यो। निर्वाचनको मिति तोकिँदा होला र भन्नेमा जति संशय थियो अब ‘कसरी रोकिन्छ र?’ भन्ने दृढता देखिन्छ।
जेनजी पुस्ताको हस्तक्षेपबाट हुन लागेको निर्वाचनमा यही पुस्ताको प्रतिनिधित्वको अवस्था कस्तो छ? उकेराले सबै दलका उम्मेदवारहरूमध्ये ४० मुनिका कति मात्र हैन कस्ता-कस्ता परे भन्ने लेखाजोखा गर्न यो सिरिज सुरू गरेको हो।
मिसन पुस्तान्तरणका यसअघिका समाचार:
माघ १५, २०८२ बिहीबार ०७:५२:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।