मुम्बई मेट्रोमा झुण्डिएपछि विवादमा वरुण धवन, टिमले भन्यो- ‘कुनै जरिवाना तिर्नुपरेको छैन’
मुम्बई : फिल्म ‘बोर्डर २’का अभिनेता वरुण धवन मुम्बई मेट्रोको एउटा भिडियोका कारण विवादमा आएका छन्। भिडियोमा अभिनेता मेट्रोको ओभरहेड रडमा झुण्डिएर व्यायाम (पुश-अप) गरिरहेको देखिएका थिए।
उक्त भिडियो सार्वजनिक भएपछि मेट्रो प्राधिकरणले अर्को एक भिडियो जारी गर्दै यसलाई दण्डनीय अपराध बताएको थियो। अहिले यस विवादमा वरुण धवनको टिमले स्पष्टीकरण दिँदै अभिनेतालाई कुनै किसिमको जरिवाना नगरिएको जनाएको छ।
वरुण धवनको टिमले जारी गरेको आधिकारिक बयानमा भनिएको छ, ‘हामी वरुण धवन र मुम्बई मेट्रोबारे आएका हालैका खबरहरूबारे स्पष्ट पार्न चाहन्छौँ। हामी यो स्पष्ट गर्न चाहन्छौँ कि वरुणलाई कुनै किसिमको जरिवाना वा सजाय तोकिएको छैन। अधिकारीहरूले पहिले गरेको पोस्ट हटाइसकेका छन् र यो भ्रम हटाउन सहयोग गरेकोमा हामी उहाँहरूलाई धन्यवाद दिन्छौँ। वरुण शहरका नियम र मेट्रो विभागको प्रयासको पूर्ण सम्मान गर्छन्।’
यसअघि मेट्रो प्राधिकरणले वरुणलाई लक्षित गर्दै लेखेको थियो, ‘यो भिडियोमा तपाईंको एक्सन फिल्ममा जस्तै महा मुम्बई मेट्रोमा यस्तो गर्ने प्रयास नगर्नुहोला भन्ने चेतावनी हुनुपर्ने थियो। हामी बुझ्छौं, साथीहरूसँग मेट्रोमा हिँड्नु रमाइलो हुन्छ, तर समात्ने ह्यान्डलहरू झुण्डिनका लागि होइनन्।’
प्राधिकरणले यस्तो कार्य उपद्रव मच्चाउने वा सम्पत्तिमा क्षति पुर्याउने कानुन अन्तर्गत दण्डनीय रहेको र अपराधको गम्भीरता हेरी जरिवाना वा जेल सजाय हुन सक्ने बताएको थियो।
उनीहरूले भनेका थिए, ‘साथीहरू हो, मेट्रोमा यात्रा गर्नुहोस्, तर त्यहाँ नझुण्डिनुहोस्। महा मुम्बई मेट्रोमा जिम्मेवारीपूर्वक यात्रा गर्नुहोस्।’
शनिबार वरुण धवनले आफ्नो आधिकारिक सोसल मिडिया अकाउन्टबाट मुम्बई मेट्रोको ह्यान्डलमा झुण्डिएको भिडियो पोस्ट गरेका थिए।
ट्राफिक जामबाट बच्नका लागि मेट्रोमा यात्रा गरिरहेको जानकारी दिएका उनी एउटा सिनेमा हलमा दर्शकलाई ‘सरप्राइज’ दिन जाँदै थिए। उनको फिल्म ‘बोर्डर २’ अहिले प्रदर्शन भइरहेको छ र बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
माघ १४, २०८२ बुधबार १३:३१:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।