विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

एजेन्सी : भारतको महाराष्ट्र राज्यका उपमुख्यमन्त्री अजित पवारको ६६ वर्षको उमेरमा विमान दुर्घटनामा परी निधन भएको छ।

बुधबार बिहान ८:४५ बजे बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा उनी सवार चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा उपमुख्यमन्त्री पवारसहित उनका सुरक्षाकर्मी, दुई पाइलट र एक महिला क्रू मेम्बर गरी ५ जनाको मृत्यु भएको छ।

पवार महाराष्ट्र पञ्चायत चुनावका लागि आयोजित एक जनसभालाई सम्बोधन गर्न बारामती जाँदै थिए। महाराष्ट्र नागरिक उड्डयन विभागका अनुसार विमानले बारामती विमानस्थलमा अवतरणको प्रयास गरिरहेको थियो।

पहिलो प्रयासमा पाइलटले रनवे सफासँग देख्न नसकेपछि विमानलाई पुनः उचाइमा लगेका थिए। रिपोर्टका अनुसार, त्यस समय त्यहाँको भिजिविलिटी करिब २ हजार मिटर थियो।

पहिलो प्रयास असफल भएपछि बारामतीको रनवे-११ मा दोस्रो पटक अवतरणको प्रयास गरिएको थियो। सोही क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भयो र लगत्तै त्यसमा आगो लाग्यो।

जानकारी अनुसार, अवतरणको समयमा पाइलटले कुनै पनि इमर्जेन्सी सिग्नल वा ‘मेडे’ कल दिएका थिएनन्। घटनाको समयमा बारामतीको फ्लाइङ क्लबमा अन्य कुनै विमान उडानमा थिएनन्।

दुर्घटनाको समयमा अजितका काका शरद पवार मुम्बईमा र सुप्रिया सुले दिल्लीमा थिए। खबर पाउनसाथ उनीहरू परिवारसहित बारामतीका लागि प्रस्थान गरेका छन्।

यसैबीच, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले आज राज्यभरका विद्यालयहरूमा बिदा दिने घोषणा गरेका छन् भने राज्यमा ३ दिनको राजकीय शोकको घोषणा गरिएको छ।

माघ १४, २०८२ बुधबार १३:१७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।