जेनजी आन्दोलनमा सुन्धारा जेलबाट भागेका बलात्कारी पाँच महिनापछि पक्राउ

जेनजी आन्दोलनमा सुन्धारा जेलबाट भागेका बलात्कारी पाँच महिनापछि पक्राउ
फाइल तस्बिर

काठमाडौं : गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल (सुन्धारा)बाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।

बलात्कार मुद्दामा २५ वर्ष कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय सविन रुम्बालाई प्रहरीको टोलीले माघ १३ गते काठमाडौंको चुच्चेपाटीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार मकवानपुरको कैलाश गाउँपालिका-१० घर भएका रुम्बा २०७९ वैशाख २१ गतेदेखि सुन्धारा कारागारमा कैदमा थिए।

गत भदौमा जेनजी आन्दोलन उत्कर्षमा पुगेको समयमा कारागारभित्रको असहज परिस्थितिको फाइदा उठाउँदै उनी भाग्न सफल भएका थिए।

विगत पाँच महिनादेखि काठमाडौं उपत्यकाभित्रै लुकीछिपी बस्दै आएका उनलाई प्रहरीको विशेष टोलीले काठमाडौँ महानगरपालिका-६, चुच्चेपाटी क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका रुम्बालाई बाँकी कैद भुक्तानका लागि पुनः कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा बुझाइएको प्रहरीले जनाएको छ।

माघ १४, २०८२ बुधबार १२:०९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।