ट्रम्प रिसाए पनि भनाइ फिर्ता नलिने क्यानडाका प्रधानमन्त्रीको अडान
एजेन्सी : क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई क्रुद्ध बनाउने आफ्ना हालैका टिप्पणीहरू फिर्ता लिन अस्वीकार गरेका छन्।
कार्नीले राष्ट्रपति ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा आफूले दाभोसमा व्यक्त गरेकै कुरामा अडिग रहेको बताएका छन्।
मंगलबार एक पत्रकारले ‘अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले राष्ट्रपतिसँगको कुराकानीमा तपाईं दाभोसमा दिएको बयानबाट पछि हट्नुभयो भनी बताएका छन् नि?’ भनी सोधेको प्रश्नमा कार्नीले आफ्नो अडान स्पष्ट पारेका हुन्।
यसको जवाफमा मार्क कार्नीले भने, ‘राष्ट्रपतिले सोमबार मलाई फोन गर्नुभयो। हामीबीच युक्रेन, भेनेजुएला र आर्कटिक क्षेत्रको सुरक्षा लगायतका विषयमा व्यापक र सौहार्दपूर्ण छलफल भयो।’
उनले अगाडि थपे, ‘मैले राष्ट्रपतिलाई स्पष्ट भनेँ कि दाभोसमा मैले जे भनेँ, मेरो आशय त्यही थियो। यो स्पष्ट छ कि यो मुद्दाहरूको एक ठूलो दायरा हो, जसमा अमेरिकाको व्यापार नीतिमा आएको परिवर्तनलाई क्यानडाले सबैभन्दा पहिले बुझेको छ। यसको सुरुवात उनीहरूले (अमेरिकाले) गरे र हामी त्यसकै जवाफमा कदम चालिरहेका छौँ।’
हालै स्विट्जरल्याण्डको दाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकमा मार्क कार्नीले ‘नयाँ विश्व व्यवस्था’बारे भाषण दिएका थिए। उक्त भाषणमा कार्नीले विश्वमा ठूला शक्ति राष्ट्रहरूको दबदबा विरुद्ध आफ्नो धारणा राखेका थिए।
सोही अभिव्यक्तिपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले असन्तुष्टि जनाउँदै क्यानडालाई ‘बोर्ड अफ पिस’ मा सामेल हुन दिइएको निम्तो फिर्ता लिएका थिए।
माघ १४, २०८२ बुधबार ०९:०६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।