मुस्ताङ, हुम्ला र बाजुरामा भारी हिमपात, कहाँको अवस्था कस्तो?

मुस्ताङ, हुम्ला र बाजुरामा भारी हिमपात, कहाँको अवस्था कस्तो?

काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मङ्गलबार रातिदेखि मुस्ताङ, हुम्ला र बाजुरासहितका उच्च पहाडी तथा हिमाली जिल्लामा वर्षासँगै भारी हिमपात भएको छ।

हिमपातका कारण सडक तथा हवाई यातायात अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ भने लामो समयपछि हिउँ पर्दा किसानहरू भने उत्साहित भएका छन्।

हिमालपारिको जिल्ला मुस्ताङका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन्। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ।

भारी हिमपातका कारण कागबेनी–कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, हिमपातले कृषि क्षेत्रमा भने फाइदा पुग्ने देखिएको छ।

हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलुलगायतका बाली सप्रिने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए।

कर्णाली प्रदेशका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा पनि मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ। हुम्लाका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा करिब एक फिट हिउँ जमेको छ।

बाक्लो हिउँका कारण सिमकोटको हवाई सेवा अवरुद्ध भएको छ भने लिमी, न्यालु, यारी र हिल्सा जोड्ने सडकहरू बन्द भएका छन्। चिसोका कारण स्थानीयलाई घरबाहिर निस्कन कठिनाइ भएको छ।

बाजुराका उच्च लेकाली भेगहरू बडीमालिका, बुढीगङ्गा, त्रिवेणी, बुढीनन्दा, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा बाक्लो हिमपात भएको छ।

विशेषगरी हिमाली गाउँपालिकाको विच्छ्या, रुगिन, बाँधु तथा गौमुलको अल्लिस, दहकोट र बुढीनन्दाको कुरु गाउँको जनजीवन हिमपातले बढी प्रभावित बनाएको छ। जनजीवन कष्टकर भए पनि वर्षा र हिमपातले गहुँ खेती राम्रो हुने कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसीराम सहानीले जानकारी दिए।

माघ १४, २०८२ बुधबार ०८:५८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।