आईसीसीमाथि मोहम्मद युसुफको प्रश्न : १० देश बराबर एक्लै बंगलादेश, तैपनि किन बेवास्ता?
एजेन्सी : पाकिस्तानका पूर्व क्रिकेटर मोहम्मद युसुफले बंगलादेशको विषयलाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को रवैयाप्रति कडा प्रश्न उठाएका छन्।
युसुफले १० वटा देशको कुल क्रिकेट दर्शक संख्या (भ्युअरसिप) र बंगलादेशको एक्लो दर्शक संख्या तुलना गर्दै आईसीसीको निष्पक्षतामाथि औंला ठड्याएका हुन्।
उनले न्युजिल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड, नेपाल, नेदरल्यान्ड्स, आयरल्याण्ड, नामिबिया, जिम्बाब्वे, श्रीलंका र अफगानिस्तान गरी १० देशको नाम लिँदै ती सबैको जोड्दा जति दर्शक हुन्छन्, लगभग त्यति नै दर्शक एक्लै बंगलादेशसँग रहेको दाबी गरे।
युसुफका अनुसार ती १० देशको कुल भ्युअरसिप ‘१७८ मिलियन’ (१७ करोड ८० लाख) छ भने बंगलादेशको मात्रै ‘१७६ मिलियन’ (१७ करोड ६० लाख) रहेको छ।
उनले भने, ‘संसारभरका दर्शकमा टिकेको यो खेलमा यदि बंगलादेशको जायज सुरक्षा चिन्तालाई बेवास्ता गरिन्छ भने, यसले खेलको व्यवस्थापन र नियमहरूको निष्पक्षतामा गम्भीर प्रश्न खडा गर्छ।’
निर्णय गर्दा कुनै देशलाई काखा र कुनैलाई पाखा गर्न नहुने बताउँदै युसुफले भने, ‘जब निर्णयहरूमा छनोटपूर्ण व्यवहार अपनाइन्छ, तब निष्पक्षता सकिन्छ। क्रिकेटलाई कसको कति प्रभाव छ भन्ने आधारमा नभई सिद्धान्तका आधारमा चलाइनुपर्छ।’
माघ १३, २०८२ मंगलबार ११:१५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।