ट्रम्पलाई झुकाउन युरोपेली देशहरूले प्रयोग गर्यो ‘ट्रेड बाजुका’ अस्त्र
एजेन्सी : स्विट्जरल्याण्डको डाभोसमा सम्पन्न ‘वर्ल्ड इकोनोमिक फोरम’मा युरोपेली देशहरूको खिल्ली उडाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अन्तत: झुकेका छन्।
फेब्रुअरी १ देखि युरोपेली देशहरूबाट आउने सामानमा १० प्रतिशत कर लगाउने ट्रम्पको घोषणापछि युरोपियन युनियनले ‘ट्रेड बाजुका’ प्रयोग गर्ने चेतावनी दिएसँगै ट्रम्प पछि हट्न बाध्य भएका हुन्।
यसका अलावा ट्रम्पले डेनमार्कको ग्रीनल्याण्डमाथि कब्जा गर्ने अभिव्यक्तिमा पनि नरमपन देखाउँदै शक्ति प्रयोग नगर्ने बताएका छन्।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले चेतावनी दिएको ‘ट्रेड बाजुका’ वास्तवमा युरोपेली युनियनको एक विशेष कानुन हो, जसलाई ‘एन्टी-कोअर्सन इन्स्ट्रुमेन्ट’ भनिन्छ।
यसको मुख्य उद्देश्य भनेको यदि कुनै देशले युरोप वा यसका सदस्य राष्ट्रमाथि अनुचित दबाब दिए, युरोपले त्यसको कडा आर्थिक जवाफ दिनु हो।
यस कानुन अन्तर्गत युरोपले सम्बन्धित देशको सामान आयात-निर्यात रोक्न, ती देशका कम्पनीलाई युरोपका सरकारी ठेक्कापट्टाबाट बाहिर राख्न र लगानीमा समेत प्रतिबन्ध लगाउन सक्छ।
सरल भाषामा भन्नुपर्दा, यदि अमेरिकाले पेल्न खोजे युरोपले आफ्नो ४५ करोड जनसंख्या भएको विशाल बजारको ढोका बन्द गरिदिन सक्छ, जसले अमेरिकी अर्थतन्त्रलाई अर्बौं डलरको नोक्सान पुर्याउँछ।
चीनसँगको लडाइँबाट सिकेको पाठ
यो कानुन सन् २०२१ मा चीनले युरोपेली देश लिथुआनियामाथि नाकाबन्दी गरेपछि बनाइएको थियो।
त्यसबेला ठूला शक्तिहरूसँग एक्लाएक्लै लड्न सकिँदैन भन्ने महसुस गरेको थियो। त्यसैले, व्यापार वा लगानीका माध्यमबाट कसैले दबाब दिएमा सबै सदस्य राष्ट्र मिलेर प्रतिवाद गर्न यो कानुन सन् २०२३ मा तयार पारिएको हो।
ट्रम्पले नेटोका सहयोगी देशहरूलाई धम्की दिएपछि युरोप र अमेरिकाबीचको पुरानो भरोसा टुटेको विश्लेषण गरिएको छ। बेल्जियमका प्रधानमन्त्रीले भनेका छन्, ‘गुलाम बनेर बस्न मन्जुर छैन।’
युरोपेली नेताहरूले अब रक्षा र सुरक्षाका लागि अमेरिकाको मुख ताक्नुभन्दा आफैँ बलियो हुनुपर्ने र ट्रम्पलाई खुसी पार्ने नीतिले काम नगर्ने निष्कर्ष निकालेका छन्।
ट्रम्पले युक्रेनले आफ्नो भूभाग रुसलाई सुम्पनुपर्ने संकेत गरे पनि युरोपले त्यसलाई अस्वीकार गरेको छ। अमेरिकाले हात झिके पनि युरोपले युक्रेनलाई ९० अर्ब युरोको नयाँ सहायता स्वीकृत गर्दै रुसी कब्जालाई मान्यता नदिने स्पष्ट पारेको छ।
माघ १३, २०८२ मंगलबार १०:३५:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।