ट्रम्पद्वारा दक्षिण कोरियाली सामानमा कर बढाउने घोषणा
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट अमेरिका भित्रिने सामानहरूमा भन्सार शुल्क (ट्यारिफ) बढाएर २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्।
गत वर्ष भएको व्यापार सम्झौता दक्षिण कोरियाले 'सहि रूपमा पालना नगरेको' आरोप लगाउँदै ट्रम्पले यस्तो निर्णय लिएका हुन्।
आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै ट्रम्पले दक्षिण कोरियाबाट आउने कार, काठका सामग्री, औषधि र अन्य उत्पादनहरूमा लाग्ने कर १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत गरिने बताएका छन्।
उनले यसलाई 'रेसिप्रोकल ट्यारिफ' (पारस्परिक कर) भनेका छन्। सरल भाषामा भन्नुपर्दा, यदि कुनै देशले अमेरिकी सामानमा बढी कर लगाउँछ भने, अमेरिकाले पनि त्यो देशबाट आउने सामानमा उति नै बढी कर लगाउने नीति हो।
ट्रम्पको गुनासो छ कि सम्झौता अनुसार अमेरिकाले आफ्नो कर तीव्र गतिमा घटाएको छ, तर दक्षिण कोरियाको संसदले भने उक्त सम्झौतालाई पास गर्न वा कार्यान्वयनमा ल्याउन ढिलाइ गरिरहेको छ।
यता दक्षिण कोरियाले भने अमेरिकाले कर बढाउने निर्णय गरेको बारे आफूलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ। साथै, दक्षिण कोरियाले यस विषयमा अमेरिकासँग तत्काल वार्ता गर्न माग गरेको छ।
माघ १३, २०८२ मंगलबार ०७:४०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।