चुनावको माहौलमा किन गुमनाम छन् रवि !

चुनावको माहौलमा किन गुमनाम छन् रवि !

काठमाडौं : पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवारी दर्ताको दिनदेखि नै व्यस्त छन्। झापामा रहँदा उनी पूर्वका जिल्ला घुमेर काठमाडौं फर्किए। घन्टीघरमा नगई ज्वागलमा बसेर भेट्न अनि फोटो खिच्न चाहने पार्टीका उम्मेदवारहरू भेटे। सोमबार उनी नेपालगन्ज पुगिसकेका छन्।

उता पार्टीका सभापति रवि लामिछाने भने माघ ६ गतेबाटै गायब छन्। उनी माघ ५ गते जनकपुरमा देखिएका थिए जहाँ पार्टीका भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाहले पहिलो पटक पार्टीको औपचारिक मञ्च प्रयोग गरेका थिए। रविले पनि जनकपुरको मञ्चमा भाषण गरेका थिए।

माघ ६ मा उम्मेदवारी दर्ताको दिन पनि सहकारी ठगीमा जिल्ला अदालत पर्साले एक करोड धरौटी मागेपछि उनले चितवन २ मा उम्मेदवारी समेत प्रतिनिधामार्फत दर्ता गराएका थिए। त्यो दिन उनले सामाजिक सञ्जालबाट आक्रोश पोखेका थिए। त्यसयता उनी न कुनै सार्वजनिक कार्यक्रममा देखिएका छन् न त पार्टीको कार्यक्रममै। 

पार्टीको ह्वाट्सएप ग्रुपदेखि फेसबुकसम्ममा उनी गायब छन्। अदालतमा तारेख छँदैछ, उता सर्वोच्च अदालतमा उनको अभियोग पत्रमा रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग सच्याउने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरुद्धमा सुनुवाइ चलिरहेको छ।

पार्टीको उम्मेदवारको प्रचार अनि आफ्नै निर्वाचन क्षेत्र चितवन २ मा समेत नदेखिएका रवि आखिर छन् कहाँ ?, के उनी यही अदालती प्रक्रियामा अल्झिएका हुन् त?

पर्सा अदालतमा एक करोड धरौटी बुझाउन जाँदा देखिएका रवि।रास्वपाका नेता प्रमोद न्यौपानेले सभापति रवि अहिले पार्टीको आन्तरिक काममा केन्द्रीय कार्यालयमै व्यस्त रहेको बताए।

समानुपातिकदेखि प्रत्यक्षतर्फको उम्मेदवारीमा असन्तुष्ट पार्टीका केही नेताहरूसँगको छलफल र पार्टीको वाचा पत्र निर्माणमा रवि केन्द्रित रहेको न्यौपानेले बताए।

“सभापतिज्यू अहिले घन्टीघरमै बसेर चुनावका लागि आवश्यक गृहकार्य गरिरहनु भएको छ,” उनले भने “पार्टीको वाचापत्र निर्माण गर्नेदेखि चुनावका अन्य प्राविधिक पक्ष मिलाउन उहाँ व्यस्त हुनुभएको हो।”

२०७९ को निर्वाचनमा केन्द्रमा रहेका रवि अहिले गुमनाम

२०७९ को निर्वाचनमा पार्टीको मुख्य आकर्षण रवि थिए। पार्टीको प्रचारदेखि लिएर उम्मेदवारको पक्षमा माहोल बनाउन उनी नै खटिएका थिए। तर फागुन २१ को निर्वाचनको माहोल तात्दै जाँदा पनि उनी कतै देखिएका छैनन्।

चितवन २ बाट उम्मेदवार बने पनि उनी प्राय पार्टीको उम्मेदवार रहेको क्षेत्रमा पुगेका थिए। तर यस पटक उम्मेदवारी दर्ता भएदेखि नै पार्टीको प्रचारको कमान्ड बालेन्द्र शाहले सम्हालेका छन्।

तर पार्टीले अहिलेसम्म औपचारिक रूपमा निर्वाचनको रणनीति सार्वजनिक गरेको छैन। उसले चुनावी कमान्डर समेत तोकेको छैन।

चुनावी प्रचारमा बालेन्द्र शाह।तर भावी प्रधानमन्त्रीमा अगाडि सारेपछि बालेन्द्र नै अहिले  चुनावको प्रचारमा खटिएका छन्। तर उनले यसका लागि पार्टी कार्यालय प्रयोग गरेका छैनन्। उनले देश विकास पार्टीलाई सक्रिय गराउन ललितपुरमा खोलेको पार्टी कार्यालयमा सहयोगीहरू राखेर चुनावी रणनीति बनाइरहेका छन्। उनले सहयोगी कुमार बेनको घरको समेत प्रयोग गरिरहेका छन्।

उनी पार्टीको चुनावी प्रचारमा सक्रिय भए पनि सँगै हिँड्नेहरू स्वतन्त्र उम्मेदवार बन्दाकाहरु नै छन्। उनको चुनावको कमान्ड अहिले पनि कुमार बेनले नै सम्हालेका छन् भने सहयोगीहरू काठमाडौं महानगरपालिकाको मेयर हुँदाका सहयोगीहरू नै छन्।

पार्टीका नेताहरूबारे कुनै विवाद आए प्रवक्ता वा सह-प्रवक्तामार्फत तत्काल पार्टीको ह्वाट्सएप ग्रुपमा धारणा वा खण्डन  सार्वजनिक गर्ने गरे पनि यो बिचमा बालेन्द्रबारे आएको कुनै विवादमा पनि पार्टीले बोलेको छैन। बालेन्द्रको तर्फबाट उनका पुरानै प्रवक्ता भूपदेव शाहले प्रतिक्रिया दिने गरेका छन्। पार्टीको ह्वाट्सएप ग्रुप पनि आठ दिनदेखि सुनसान छ। सोमबार एक सन्देश राखिए पनि त्यो कवीन्द्र बुर्लाकोटीले आफ्नो चुनावी अभियानबारे लेखेका छन्।

माघ १२, २०८२ सोमबार १६:४२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।