नेप्सेमा सामान्य करेक्सन, पाँच कम्पनीको सेयरमा 'सकारात्मक सर्किट'

नेप्सेमा सामान्य करेक्सन, पाँच कम्पनीको सेयरमा 'सकारात्मक सर्किट'

काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य करेक्सनको संकेतसहित घटेको छ।

अघिल्लो कारोबार दिन उच्च अंक बढेको नेप्से यस दिन अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्दा परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा बन्द भयो।

यस दिन सेन्सेटिभ इण्डेक्स १.६५ अंक, फ्लोट इण्डेक्स ०.२१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५२ अंक घट्यो। यद्यपि, बजारमा कारोबार रकम भने बढेको छ। सोमबार ३३२ स्टकको १ लाख ४७ हजार ६७६ पटकको कारोबारमा १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर किनबेच भयो। 

यस दिन एसवाई प्यानल नेपाल, हिम स्टार ऊर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १० प्रतिशत र ट्रेड टावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढोत्तरी भयो।

यस दिन हिमालयन पावर पार्टनर कम्पनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ। जसको सोमबार ६५ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आँखु खोला जलविद्युत कम्पनीको सेयर कारोबार ५६ करोड रुपैयाँभन्दा बढी र मञ्जुश्री फाइनान्सको कारोबार ५२ करोड रुपैयाँ नाघेको छ।

आज १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। सर्वाधिक बढेको होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६७ प्रतिशतले उक्लिएको छ। त्यस्तै, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहमा पनि सामान्य बढोत्तरी देखियो।

माघ १२, २०८२ सोमबार १५:५७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।