डुम्रे-बेँसीसहर सडकखण्ड आजदेखि तीन दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह
लमजुङ : लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे-बेँसीसहर सडकखण्ड आजदेखि तीन दिनसम्मका लागि बन्द गरिएको छ।
यस सडकखण्ड अन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-१, उदीपुर पहिरो क्षेत्रमा सडक कालोपत्रे गर्नुपर्ने भएकाले यातायात आवागमनमा रोक लगाइएको हो।
जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार आज बिहान ११ बजेदेखि सुरु भएको यो अवरोध माघ १४ गते बेलुका ६ बजेसम्म कायम रहनेछ।
सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार डुम्रे-बेँसीसहर-चामे सडक कार्यालयको अनुरोधमा कालोपत्रे कार्यलाई सहज बनाउन सडक बन्द गरिएको हो।
केही वर्षअघि पहिरोले क्षति पुर्याएको उक्त खण्डमा मर्मत सम्भार र कालोपत्रेको काम भइरहेको छ।
यातायात ठप्प हुन नदिन नेपाली सेनाको चण्डीप्रसाद गण, उदीपुर ब्यारेकको क्षेत्रबाट सवारी साधनहरूलाई ‘डाइभर्ट’ गराई आवागमनको व्यवस्था मिलाइएको छ।
यस सडक हुँदै काठमाडौं, पोखरा, चितवन लगायतका गन्तव्यमा जाने सवारी साधनका साथै लमजुङ र हिमाली जिल्ला मनाङका स्थानीय बासिन्दाहरू आवतजावत गर्ने गर्छन्।
विसं २०७८ असार १ र साउन ११ गते गएको पहिरोले यस क्षेत्रको सडक बगाएको थियो। सङ्घीय सरकारको रु. ११ करोड १९ लाख बजेटमा सडक रोकथाम तथा मर्मत कार्य भइरहेको छ। हाल सो स्थानमा करिब ४०० मिटर सडक कालोपत्रे गरिँदै छ।
डुम्रे-बेँसीसहर-चामे सडक आयोजनाका प्रमुख सतीश सुवेदीका अनुसार पहिरो रोकथामको कार्य करिब ८५ प्रतिशत सम्पन्न भइसकेको छ भने कालोपत्रेको काम तीव्र गतिमा अघि बढिरहेको छ।
माघ १२, २०८२ सोमबार १३:११:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।