दुबईको ‘विश्वविद्यालय’मा लैजाने भन्दै चार सय विद्यार्थीमाथि ठगी : अनुसन्धानमा सीआईबी, विषय बुझेका मन्त्री चुनाव लड्न गए
काठमाडौं : युनाइटेड अरब इमिरेट्स (यूएई), दुबईमा विश्वविद्यालयमा अध्ययन गर्ने सपना बोकेर गएका सयौं नेपाली विद्यार्थीहरू ठगीमा परेका छन्। विश्वविद्यालय भनेर पठाइएका विद्यार्थीहरू अन्ततः सामान्य तालिम केन्द्रमा पुगेर अलपत्र परेपछि ठगीको यो धन्दा पर्दाफास भएको हो।
विद्यावारिधि (पीएचडी) गर्न २०२५ को जनवरीमा शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएर दुबई पुगेका बिश्वजीत कुमार यादव त्यहाँ पुगेको एक हप्तामै आफू ठगिएको चाल पाए। उनले भने, ‘म त्यहाँको ‘ब्रिटिस युनिभर्सिटी’मा पीएचडी गर्न गएको थिएँ, तर त्यहाँ पुग्दा त्यो त सामान्य ट्रेनिङ सेन्टर पो रहेछ।’
यादवले प्रशासनिक र कानुनी लडाइँ लडेर आफ्नो रकम फिर्ता लिएर नेपाल फर्किए। तर, उनीसँगै सोही संस्थामा ६० जना नेपाली विद्यार्थीहरू अध्ययनरत थिए, जसलाई आफू ठगिएको पत्तोसमेत थिएन। उनका अनुसार उक्त शैक्षिक संस्थाले आफ्नो वेबसाइटमा नाम परिवर्तन गरेर ‘ब्रिटिस ट्रेनिङ सेन्टर’ बनाइसकेको थियो।
नेपाल फर्किएपछि यादवले आफूजस्तै पीडित विद्यार्थीहरूलाई संगठित गरेर ‘स्क्यान द स्क्यामर’ अभियान सुरू गरेका छन्।
उनको नेतृत्वमा बनेको ह्वाट्सएप ग्रुपमा मात्रै अहिले ४०० भन्दा बढी पीडित विद्यार्थी जोडिएका छन्। पीडितहरूमा स्नातकदेखि विद्यावारिधि तहसम्म अध्ययन गर्न गएका विद्यार्थीहरू छन्।
यादवका अनुसार १० देखि ३० लाख रुपैयाँसम्म तिरेर दुबई पुगेका धेरै विद्यार्थीहरू अझै पनि स्वदेश फर्कन नसकी उतै लुकेर काम गर्न बाध्य छन्। ‘जति रेमिट्यान्स नेपाल भित्रिन्छ, त्यति नै रकम ठगिएर बाहिरिँदो रहेछ’, यादवले दुखेसो पोखे।
विद्यार्थीहरू ठगिनुमा शिक्षा मन्त्रालयको संयन्त्रकै कमजोरी वा मिलेमतो रहेको पीडितहरूको आरोप छ।
यादव भन्छन्, ‘पहिले यूएईका लागि १५० भन्दा बढी संस्थालाई एनओसी दिइन्थ्यो। हाम्रो अभियानपछि मन्त्रालयले कडाइ गर्दा अहिले जम्मा २३ वटा संस्थाले मात्र एनओसी पाइरहेका छन्। यसले पुष्टि गर्छ कि बाँकी संस्थाहरू ठगीकै लागि खडा गरिएका थिए।’
उनी मन्त्रालयले बनाएको छानबिन समिति पनि नाम मात्र भएको उनको आरोप छ। उनले विषय तात्दै जाँदा पूर्वमन्त्री र कर्मचारीहरू नै पक्राउ पर्ने अवस्था रहेको दाबी गरे।
‘यो विषयलाई तान्दै गयो, खोज्दै गयो भने पूर्व मन्त्री, कर्मचारीहरू पनि पक्राउ पर्ने हुन सक्छ,’ उनले भने, ‘मन्त्रालयबाट कसै न कसैको सेटिङ नमिलाएसम्म त यति धेरै स्क्याम कसरी हुनसक्छ?’

केही समयअघि काठमाडौंस्थित ‘द ब्रिटिस कलेज’ ले पनि विदेशी विश्वविद्यालयको सम्बन्धनका नाममा मापदण्डविपरीत कार्यक्रम सञ्चालन गरेको र विद्यार्थीहरूलाई भ्रममा पारेको विषय विवादमा आएको थियो।
अहिले दुबई काण्डमा पनि उस्तै प्रकृतिको ठगी देखिएको छ, जहाँ विश्वविद्यालयको नाम बेचेर ट्रेनिङ सेन्टरमा विद्यार्थी भर्ना गरिएको छ।
सीआईबी अनुसन्धानमै, मन्त्री चुनाव लड्न गए
पीडित विद्यार्थीहरूको उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ५ जना कन्सल्टेन्सी सञ्चालकहरूलाई पक्राउ गरेको छ। पुस ३० गते बेस्ट एजुकेसन, मर्सी एजुकेसन, सिटीहब एजुकेसन र कान्तिपुर एब्रोड कन्सल्टेन्सीका सञ्चालकहरू समातिएका हुन्।
यस प्रकरणलाई गम्भीरतापूर्वक लिएर कारबाही अघि बढाउने प्रतिबद्धता जनाएका तत्कालीन शिक्षा मन्त्री महावीर पुनले राजीनामा दिएर चुनावी मैदानमा होमिएपछि पीडितहरू निराश बनेका छन्।
‘मन्त्रीज्यूले न्याय दिने वाचा गर्नुभएको थियो, तर उहाँ चुनावमा लाग्नुभयो। अब हाम्रो मुद्दा ओझेलमा पर्ने हो कि भन्ने चिन्ता छ’, यादवले भने।
पीडितहरूले शिक्षा मन्त्रालय, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत धाइसकेका छन्। उनीहरूले केवल कन्सल्टेन्सी सञ्चालकलाई मात्र होइन, मन्त्रालयभित्रै सेटिङ मिलाउने कर्मचारी र पूर्वपदाधिकारीहरूलाई समेत कारबाहीको दायरामा ल्याउन उच्चस्तरीय छानबिन समिति गठनको माग गरेका छन्।
साथै, दुबईमा अलपत्र परेका विद्यार्थीहरूको तथ्यांक संकलन गरी उनीहरूलाई स्वदेश फर्काउन र ठगिएको रकम फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने उनीहरूको माग छ। सीआईबीले भने अनुसन्धान जारी रहेको र दोषीलाई कारबाहीको दायरामा ल्याउने बताएको छ।
माघ १२, २०८२ सोमबार १३:२८:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।