आना र धिरजको ‘रमिताको पिरती’को ट्रेलरमा ‘ब्रेकअप स्टोरी’

आना र धिरजको ‘रमिताको पिरती’को ट्रेलरमा ‘ब्रेकअप स्टोरी’

काठमाडौं : अभिनेत्री आना शर्मा र अभिनेता धिरज मगरको मुख्य भूमिका रहेको फिल्म ‘रमिताको पिरती’को ट्रेलर सार्वजनिक भएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर रिलिज गरिएको हो।

सार्वजनिक ट्रेलरले प्रेम सम्बन्ध र त्यसपछिको विछोड (ब्रेकअप) को कथालाई प्रस्तुत गरेको छ।

प्रेम टुटिसकेपछि एक युवतीले भोग्ने मानसिक अवस्था र परिस्थितिलाई फिल्मले उजागर गर्न खोजेको देखिन्छ। ट्रेलरमा मुख्य कलाकार आना शर्मा, धिरज मगर र समीर श्रेष्ठलाई देखाइएको छ।

फिल्मकी निर्देशक सुदिप्ताले यसलाई ‘लभस्टोरी’ भन्दा पनि ‘ब्रेकअप स्टोरी’का रूपमा दर्शकमाझ चिनाउन चाहेको बताइन्।

उनले भनिन्, ‘प्रायः फिल्महरूमा नायकको दृष्टिकोणबाट प्रेम कथाहरू देखाइन्छन्।तर, मैले यसमा ठीक उल्टो महिलाको दृष्टिकोण (पर्स्पेक्टिभ) बाट कथा भन्न खोजेकी छु। ब्रेकअपपछि एउटी केटीको माइन्डसेट कस्तो हुन्छ र उसले के-के भोग्छ भन्ने कुरालाई फरक रूपमा प्रस्तुत गरिएको छ।’

यही फिल्ममार्फत निर्मात्रीका रूपमा समेत डेब्यु गरेकी अभिनेत्री आना शर्माले यो फिल्म आफ्ना अघिल्ला फिल्मभन्दा नितान्त फरक रहेको बताइन्। उनले पात्रमा आफूलाई ढाल्न निर्देशक सुदिप्तासँग करिब ६ महिना तयारी गरेको जानकारी दिइन्।

यस्तै, अभिनेता धिरज मगरले पछिल्लो समय आफू ‘हिरो सेन्ट्रिक’ भन्दा पनि महिला पात्र वा कथा प्रधान फिल्ममा काम गर्न रुचाएको बताए। चर्चित गायक समीर श्रेष्ठले यसै फिल्ममार्फत अभिनेताका रूपमा डेब्यु गर्दैछन्।

सेरो फिल्मस्को प्रस्तुति रहेको यो फिल्म आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा आना, धिरज र समीरका साथै विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, गियना, थिङले ​​​​​​​लामोलगायतको अभिनय छ।

सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा सागर लम्साल निर्माता र सुवास कोइराला सह-निर्माता छन्। फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत तथा स्वर रहेको छ।

शिशिर विशंखेले खिचेको फिल्मलाई सुनिल शिवभक्तिले सम्पादन गरेका हुन् भने कोरियोग्राफी कृतिका बरालको रहेको छ।

फिल्मको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले गर्ने निर्माण पक्षले जनाएको छ।

माघ १२, २०८२ सोमबार ११:१७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।