चीनले फिर्ता लैजान लागेपछि ५० वर्षपछि पान्डाविहीन बन्दै जापान
टोकियो : जापानका पान्डा प्रेमीहरूका लागि यो साता निकै भावुक बनेको छ।
टोकियोको उएनो चिडियाखानामा रहेका अन्तिम दुई जुम्ल्याहा पान्डा ‘साओ साओ’ र ‘लेई लेई’ जनवरी २७ मा चीन फर्किँदैछन्। यी पान्डाहरूमा चीनको स्वामित्व रहेको छ। यिनीहरूको बिदाइसँगै जापान करिब ५० वर्षपछि पहिलो पटक पान्डाविहीन बन्नेछ।
आइतबार चिडियाखानामा यी पान्डाहरूलाई अन्तिम पटक सार्वजनिक रूपमा देखाइएको थियो।
हजारौं मानिसहरू आफ्ना प्रिय पान्डालाई अन्तिम पटक हेर्न र बिदाइ गर्न त्यहाँ पुगेका थिए। चिडियाखाना प्रशासनले प्रत्येक दर्शकलाई हेर्नका लागि मात्र एक मिनेटको समय दिएको थियो।
टिकट नपाएका मानिसहरू पनि बिदाइको साक्षी बन्न चिडियाखाना परिसरमा पुगेका थिए। धेरैजसो दर्शकहरू हातमा पान्डाका खेलौना बोकेर, तिनको नाम पुकार्दै फोटो र भिडियो खिचिरहेका देखिन्थे।
यी पान्डाहरूको बिदाइको मुख्य कारण जापान र चीनबीच बढ्दै गएको तिक्ततापूर्ण सम्बन्धलाई मानिएको छ।
जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ताइवानमा चीनको कुनै पनि कारबाही भए जापानले हस्तक्षेप गर्न सक्ने अभिव्यक्ति दिएपछि बेइजिङ रुष्ट बनेको छ।
टोकियो महानगर सरकारले नयाँ पान्डा पठाउन अनुरोध गरे पनि चीनले उएनो चिडियाखानामा तत्काल पान्डा पठाउने कुनै योजना नभएको स्पष्ट पारेको छ।
चिनियाँ विज्ञहरूले यदि दुई देशबीचको तनाव कायम रहेमा भविष्यमा जापानमा पान्डा नदेखिन सक्ने चेतावनी दिएका छन्।
जापानका वेब इन्जिनियर ताकाहिरो ताकाउजीको दैनिकी पान्डामै बित्ने गरेको छ। विगत १५ वर्षदेखि उनी हरेक दिन उएनो चिडियाखाना गएर पान्डाको तस्बिर खिच्दै आएका छन्। उनले अहिलेसम्म १ करोडभन्दा बढी तस्बिर खिचिसकेका छन्।
अन्तिम दर्शनका क्रममा उनले एक मिनेटमै करिब ५ हजार तस्बिर खिचे। भावुक हुँदै उनले भने, ‘मैले यिनीहरूलाई जन्मदेखि नै हेरेको छु। यी मेरा छोराछोरी जस्तै हुन्। जापानमा पान्डा नै सकिएलान् भनेर मैले कहिल्यै सोचेको थिइनँ।’
पान्डा जापानका लागि भावनात्मक मात्र नभई आर्थिक सम्पत्ति पनि हुन्। उएनो क्षेत्रमा पान्डा थिमका सामान, पसल र रेस्टुरेन्टहरूको ठूलो बजार छ।
कन्साई युनिभर्सिटीका प्रोफेसर कात्सुहिरो मियामोतोका अनुसार, चिडियाखानामा पान्डा नहुँदा जापानलाई वार्षिक अर्बौं रुपैयाँको आर्थिक नोक्सानी हुन सक्छ।
यसको असर होटल, रेस्टुरेन्ट र पर्यटन व्यवसायमा पर्नेछ। यसअघि २००८ मा पान्डाको मृत्यु हुँदा चिडियाखानाका आगन्तुकको संख्या ६० वर्षयताकै कम भएको थियो।
चीनले पहिलो पटक सन् १९७२ मा जापानलाई पान्डा उपहार दिएको थियो, जुन दुई देशबीचको कूटनीतिक सम्बन्ध सुधारको प्रतीक थियो।
तर, सन् १९८० को दशकपछि चीनले उपहारको सट्टा ‘लीज सिस्टम’ (भाडामा दिने नीति) सुरु गर्यो। चीनले अन्य देशलाई पान्डा दिए पनि तिनको र तिनबाट जन्मिएका बच्चाहरुको स्वामित्व आफैंसँग राख्ने गर्दछ।
अहिले फर्कन लागेका साओ साओ र लेई लेईको जन्म सन् २०२१ मा जापानकै उएनो चिडियाखानामा भएको थियो।
माघ १२, २०८२ सोमबार १०:३८:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।