रामकुमारीको राजनीतिक फन्को : माधवको हात समाउँदा मन्त्री, ओलीको स्तुति गाउँदा राष्ट्रिय सभा सदस्य
बुटवल : नेपाली राजनीतिमा ‘शक्तिपुजा’ र ‘व्यक्ति-स्तुति’ कसरी हाबी हुन्छ भन्ने पछिल्लो उदाहरण बनेकी छन्- एमालेकी नवनिर्वाचित राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्री।
कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘सडकबाटै ठेगान लगाउने’ चेतावनी दिने उनै झाँक्री, अन्ततः उनै ओलीमा राजनीतिक भविष्य देखेर स्तुति गाइन् र पुरस्कारस्वरूप हात पारिन्- माननीय पद।
बिहीबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट ६ हजार ३३० मतभारसहित निर्वाचित भएकी झाँक्रीको यो जित केवल एउटा सिटको जित होइन। यो त चार वर्षअघि ‘प्रतिगमन’ भनेर सरापेको नेतृत्वलाई अहिले ‘देवत्वकरण’ गरेर प्राप्त गरेको राजनीतिक लाभांश हो।
माधवकुमार नेपालको हात समातेर पार्टी फुटाउँदा सहरी विकास मन्त्री बनेकी झाँक्री, अहिले माधव नेपाललाई ‘धोकेबाज’ करार गर्दै ओलीको ‘स्तुतिगान’ गाउँदा राष्ट्रिय सभा सदस्य बन्न सफल भइन्।
निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार झाँक्रीले ६ हजार ३३० मतभार प्राप्त गरिन्। सत्ता गठबन्धनको बलियो साथ पाएकी उनले विपक्षी उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पछि पारिन्।
झाँक्रीसँगै लुम्बिनीबाट कांग्रेसका उम्मेदवारहरू पनि विजयी भएका छन्। अपाङ्गतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ ५ हजार ३२२ मतभार र अन्य क्लस्टरमा कांग्रेसकै चन्द्रबहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए।
विपक्षी गठबन्धनका उम्मेदवारहरू नेपाली कम्युनिष्ट पार्टीका सजन विक (१,६०१), सोही दलकी दुर्गा भण्डारी (१,३६२) र माओवादी केन्द्रका वृहस्पति अधिकारी (१,८३२) प्रतिस्पर्धामा निकै पछाडि परे।
‘बार्दली’ को विरोधदेखि ‘बा’ को स्तुतिसम्म
रामकुमारी झाँक्रीको विगत ५ वर्षको राजनीतिक उतारचढावलाई नजिकबाट हेर्ने हो भने, उनी जति उग्र विरोध गर्छिन्, त्यति नै चरम समर्पण पनि गर्न सक्छिन् भन्ने देखिन्छ।
२०७७ पुस ५ मा केपी ओलीले संसद विघटन गरेपछि झाँक्रीले ओलीलाई ‘तानाशाह’ र ‘निरङ्कुश’ को संज्ञा दिएकी थिइन्। माइतीघर मण्डलामा पुस १० गते ‘हामी यहाँ छौँ’ लेखेको प्लेकार्ड छातीमा टाँसेर, कहिले मुखमा टाँसेको क्रस कालो टेप खोल्दै ‘बोल्न पाइन्छ’ भन्दै ओलीको विरोध गरेकी थिइन्।
बालकोटको बार्दलीबाट ओलीले गरेका भाषणलाई उनले ‘नौटंकी’ भनेकी थिइन्। गोरखामा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध दिएको अभिव्यक्तिका कारण राज्यविरुद्धको कसुरमा पक्राउ पर्दा उनले देखाएको विद्रोही स्वभावले धेरैको मन जितेको थियो।
तर, राजनीतिमा समयसँगै बोली कसरी फेरिन्छ भन्ने उनीबाट सिक्न सकिन्छ। २०८२ कात्तिक २५ गते एमालेमा फर्किने क्रममा र त्यसपछिका सार्वजनिक कार्यक्रमहरूमा उनले ओलीको यति विघ्न ‘स्तुति’ गरिन् कि, सुन्नेहरूलाई समेत अप्ठ्यारो महसुस भयो।
एमाले प्रवेशसँगै उनले भनिन्, ‘केपी ओली समकालीन राजनीतिमा भिजन भएका एक मात्र राजनेता हुनुहुन्छ। हिजो हामी बहकिएका थियौँ, उहाँको उचाइ र दुरदर्शितालाई हामीले बुझ्न सकेनौं।’
हिजो जसलाई ‘प्रतिगमनकारी’ भनिन्, आज उनैलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को स्वप्नद्रष्टा भन्दै उनले भाषण गर्न थालिन्। उनले यहाँसम्म भनिन् कि, ‘एमाले विभाजन गरेर हामीले ऐतिहासिक भूल गरेका थियौं, म त्यो गल्ती सच्याउन मूलघर फर्किएकी हुँ र अध्यक्ष कमरेड (ओली) को अभिभावकत्व (बा) स्वीकार गरेकी हुँ।’
एमालेमा ‘१० बुँदे’ सहमति गरेर बसेका भीम रावल, घनश्याम भुसालजस्ता नेताहरूले वर्षौंसम्म टिकट पाएनन्। तर, रामकुमारी झाँक्रीका हकमा ओली निकै उदार देखिए। यसको मुख्य कारण थियो- उनको ‘यू-टर्न’ र ओलीको स्तुतिगान।
पार्टी प्रवेश गरेको तीन महिना पनि नबित्दै उनलाई राष्ट्रिय सभाको टिकट दिइनुलाई राजनीतिक वृत्तमा ‘चाकरीको तत्काल पुरस्कार’ का रूपमा हेरिएको छ।
माधवको हात र मन्त्री पदको स्वाद
झाँक्रीको राजनीतिक फन्को बुझ्न २०७८ साल भदौ ९ गतेको घटना सम्झनै पर्छ।
एमाले फुटाएर ‘एकीकृत समाजवादी’ दर्ता गर्न निर्वाचन आयोग जाँदा उनले माधवकुमार नेपालको हात समातेर जसरी डोर्याएकी थिइन्, त्यो तस्बिर भाइरल बनेको थियो। एमाले फुटाउन उनले देखाएको त्यो सक्रियताको इनामस्वरूप शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी सहरी विकास मन्त्री बनिन्।
मन्त्री हुँदा पनि उनी विवादमुक्त रहिनन्। तर, जब मन्त्री पद खोसियो र चुनावमा गुल्मीबाट पराजित भइन्, उनी माधव नेपालसँग चिढिन थालिन्। विशेषगरी, २०८२ कात्तिक १९ गते माधव नेपालले एकीकृत समाजवादीलाई माओवादी केन्द्रमा समाहित गर्ने निर्णय गरेपछि झाँक्रीले ‘विद्रोह’ गरिन्।
संघर्षशील विगतदेखि अवसरवादी वर्तमानसम्म
गुल्मीको म्यालपोखरीमा २०३५ सालमा जन्मिएकी रामकुमारीको विगत भने निकै संघर्षपूर्ण छ। २०५० सालमा एसएलसी पास गरेर काठमाडौं छिरेकी उनी पद्मकन्या क्याम्पसबाट विद्यार्थी राजनीतिमा उदाएकी थिइन्।
२०६० पुस २३ गते शाही शासनविरुद्धको आन्दोलनमा रत्नपार्कमा प्रहरीको लाठी खाएर टाउको फुटाएकी रामकुमारी गणतन्त्र प्राप्तिको आन्दोलनकी एक सशक्त योद्धा थिइन्। अनेरास्ववियुको अध्यक्ष हुँदै राष्ट्रिय राजनीतिमा स्थापित भएकी थिइन्।
तर, पछिल्लो पाँच वर्षमा उनले जसरी राजनीतिक रङ फेरिन्, त्यसले उनको विगतको संघर्षलाई ओझेलमा पारेको छ। हिजो बार्दलीमा उभिएका ओलीको कटु आलोचक रामकुमारी, आज त्यही बार्दलीमुनि उभिएर ओलीको जयजयकार गरिरहेकी छन्।
माघ १२, २०८२ सोमबार १०:०३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।