माइनस ४५ डिग्रीसम्म झर्यो अमेरिकाको तापक्रम : २० राज्यमा आपतकाल घोषणा, १० लाख घरमा विद्युत् सेवा अवरुद्ध

माइनस ४५ डिग्रीसम्म झर्यो अमेरिकाको तापक्रम : २० राज्यमा आपतकाल घोषणा, १० लाख घरमा विद्युत् सेवा अवरुद्ध

एजेन्सी : अमेरिकामा आइतबार आएको भीषण हिमआँधीले जनजीवन अस्तव्यस्त बनाएको छ। आँधीका कारण करिब १० लाख घरमा विद्युत सेवा अवरुद्ध भएको छ।

स्थिति गम्भीर बनेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले २० राज्य र राजधानी वाशिङ्टन डीसीमा आपतकाल (इमर्जेन्सी) घोषणा गरेका छन्।

नेसनल वेदर सर्भिसका अनुसार यो आँधी करिब तीन हजार दुई सय २० किलोमिटर क्षेत्रमा फैलिएको छ। यसको प्रत्यक्ष असर २१ करोड अर्थात् दुई-तिहाइ अमेरिकी नागरिकमा परेको छ।

‘डेली मेल’का अनुसार न्यूयोर्कसहित देशभर हालसम्म १३ जनाको मृत्यु भएको खबर छ।

हवाई यात्रामा पनि ठूलो अवरोध सिर्जना भएको छ। ‘फ्लाइट-अवेयर’को तथ्याङ्कअनुसार शुक्रबारदेखि हालसम्म ३१ हजारभन्दा बढी उडानहरू प्रभावित भएका छन् भने १८ हजारभन्दा बढी उडान रद्द भइसकेका छन्।

आइतबार मात्रै १० हजार ८ सय भन्दा बढी उडान रद्द भए। एयरलाइन्सहरूले सोमबारका लागि पनि २ हजार तीन सयभन्दा बढी उडान रद्द गरिसकेका छन्। विज्ञहरूका अनुसार उडान रद्द हुने र ढिलाइ हुने समस्या अझै केही दिन लम्बिन सक्छ।

हिमआँधीबाट अमेरिकाको टेनेसी राज्य सबैभन्दा बढी प्रभावित भएको छ, जहाँ आइतबार दिउँसोसम्म ३ लाख ३७ हजार घर तथा व्यवसायमा बिजुली थिएन।

लुइसियाना, मिसिसिपी, केन्टकी, जर्जिया, अलाबामा र वेस्ट भर्जिनियामा पनि लाखौं घर अन्धकारमा छन्। हिउँ र चिसो वर्षाका कारण रुख र बिजुलीका पोलहरू ढलेका छन्। विद्युत अधिकारीहरूले सेवा पुनः सुचारु गर्न हप्तौं लाग्न सक्ने बताएका छन्।

आँधीको डरले मानिसहरू ग्रोसरी स्टोरहरूमा जम्मा भइरहेका छन्, जसका कारण पसलहरूमा पानी, पाउरोटी, अण्डा, मख्खन र मासुको अभाव देखिएको छ।

सरकारले मानिसहरूलाई घरभित्रै बस्न र गाडीको प्रयोग कम गर्न आग्रह गरेको छ। सडकहरू हिउँले ढाकिएका छन् भने कतिपय स्थानमा गाडीहरू हिउँमा पुरिएका छन्।

क्यानडाको सीमा नजिकका क्षेत्रहरूमा तापक्रम माइनस ४५ डिग्री सेल्सियससम्म झरेको छ।

न्यूयोर्ककी गभर्नर क्याथी होचुलले यसलाई ‘हड्डी कमाउने चिसो’ भन्दै राज्यले वर्षौंपछिको सबैभन्दा लामो चिसो र हिमपातको सामना गर्नुपर्ने बताएकी छन्। बोस्टनमा पनि विगत चार वर्षयताकै भीषण हिमपात भएको छ।

अमेरिकामा अहिले चलिरहेको यो भीषण चिसो हावाको मुख्य कारण पोलर भोर्टेक्सलाई मानिएको छ। सामान्यतया उत्तरी ध्रुवको वरिपरि घुम्ने यो हावा दक्षिणतिर सर्दा अमेरिकामा अत्यधिक चिसो बढेको हो।

माघ १२, २०८२ सोमबार ०७:५९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।