राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस-एमाले गठबन्धनको वर्चस्व, कतै बहिष्कार, कतै नो भोट
काठमाडौँ : राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेका उम्मेदवारले जितेका छन्। आइतबार भएको निर्वाचनमा गण्डकी, लुम्बिनी , कर्णाली, बागमती, सुदूरपश्चिम र मधेस प्रदेशमा नेपाली कांग्रेस र एमालेको गठबन्धनले भारी बहुमतका साथ जित हासिल गरेको हो।
गण्डकी प्रदेशमा भएको निर्वाचनमा अन्य क्लष्टरबाट नेपाली कांग्रेसका जगत तिमिल्सिना र महिला क्लष्टरबाट एमालेकी सम्झना देवकोटा विजयी भए। कांग्रेसका जगत तिमिल्सिनाले ५ हजार ३३ मतभार प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका कपिल लामाले ९ सय ४१ मतभार मात्र पाए। यस्तै, जनमोर्चाका शंकरप्रसाद बरालले ७६ मतभारमा चित्त बुझाए।
महिलातर्फ एमालेकी सम्झना देवकोटा ५ हजार १४ मतभारका साथ विजयी भइन्। उनकी प्रतिस्पर्धी नेकपाकी गोमा घिमिरेले ९ सय ४१ र जनमोर्चाकी लक्ष्मी सापकोटाले ७६ मतभार प्राप्त गरिन्। गण्डकीका २२८ मतदातामध्ये २२३ जना मतदानमा सहभागी भएका थिए। राप्रपाका २ सांसद र सत्ता गठबन्धनका ३ पालिका प्रतिनिधिले भने मतदान गरेनन्।
लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा गुल्मीकी रामकुमारी झाँक्री, अपाङ्गतातर्फ कांग्रेसका वासुदेव घिमिरे ‘जङ्गली’ र अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी निर्वाचित भए। निर्वाचन अधिकृतको कार्यालयका अनुसार महिलातर्फ निर्वाचित झाँक्रीले ६ हजार ३ सय ३ मतभार प्राप्त गरिन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी दुर्गा भण्डारीले १ हजार ३६२ मतभार ल्याइन् भने राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत प्राप्त गरिन्।
अपाङ्गतातर्फ कांग्रेस उम्मेदवार वासुदेव घिमिरे ‘जङ्गली’ ६ हजार ३ सय २२ मतभारसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपाका सर्जन विकले १ हजार ६०१ मतभार प्राप्त गरे। अन्य क्लस्टरतर्फ कांग्रेसका चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए।
उनका प्रतिस्पर्धी माओवादी केन्द्रका वृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए भने राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मत प्राप्त गरे। यससँगै लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने तीनै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन् ।
कर्णाली प्रदेशमा अन्य कलस्टरबाट कांग्रेसका ललितजंग शाही र महिलातर्फ एमालेकी मिनासिं रखाल विजयी भएका छन्। सुदुरपश्चिममा कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लिलाकुमारी भण्डारी विजयी भए। खातीले ३ हजार ९६९ मतभारत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपाका टीकाराम जैसीले १ हजार ८०५ मतभार प्राप्त गरे।
भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले १ हजार ६ सय ७६ मतभार पाइन्।
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा एमालेका प्रेमप्रसाद दंगाल र कांग्रेसकी गीता देवकोटा विजयी भए। दंगालले प्रदेशसभा तर्फबाट ५९ मतसहित ३ हजार १२७ मतभार र स्थानीय तहतर्फ १६२ मत सहित ३ हजार ७८ गरी कुल ६ हजार २०५ मतभार पाए।
देवकोटाले प्रदेशसभा तर्फबाट ६० मतसहित ३ हजार १८० मतभार पाइन् भने स्थानीय तहतर्फ १६१ मतसहित ३ हजार ५९ मतभार गरी देवकोटाले कुल ६ हजार २३९ मतभार पाइन्।
मधेश प्रदेशमा महिला क्लस्टरबाट एमालेकी उम्मेदवार रेखा झा विजयी भइन्। झा ७ हजार २ सय २२ मत भारसहित निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी शमी कुमारी अग्रवालले १ हजार ९४४ मतभार प्राप्त गरिन्।
अपांग तथा अल्पसंख्यक कलस्टरबाट रञ्जित कर्ण ८ हजार ९३ मतभारसहित निर्वाचित भए। प्रतिष्पर्धी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामानन्द प्रसादले १ हजार ३ सय ६१ मतभार पाए भने जसपाका उम्मेदवार शैलेश कुमार चौधरीले २०९ मतभार पाए।
कतै बहिष्कार, कतै नो भोट
निर्वाचन आयोगका अनुसार देशभर औसत ९५.६८ प्रतिशत मतदान भएको छ। बागमतीमा राप्रपाका १२ सांसदले मतदान वहिस्कार गरे भने कर्णालीमा राप्रपा सांसद सन्तोषी शाही प्रक्रियामा सहभागी भइनन्। मधेस प्रदेशमा पनि केही सांसद र मेयरहरू अनुपस्थित रहे।
गण्डकीमा भने सत्ता गठबन्धनको मतभार केही घटेको देखियो। ५ हजार १ सय ५ मतभार हुनुपर्नेमा देवकोटाले ९१ र तिमिल्सिनाले ७२ मतभार कम पाएका छन्। सुदुरपश्चिममा २ सय २४ मध्ये ४ जना मतदानमा सहभागी भएनन्।
माघ ११, २०८२ आइतबार १८:२३:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।