एमाले र प्रलोपाबीच चुनावी तालमेल : रुकुममा एमालेले, राप्तीमा प्रलोपाले सघाउने सहमति

एमाले र प्रलोपाबीच चुनावी तालमेल : रुकुममा एमालेले, राप्तीमा प्रलोपाले सघाउने सहमति

काठमाडौं : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बिच चुनावी तालमेल गर्ने सहमति भएको छ। आइतबार एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाकी अध्यक्ष दुर्गा सोवबीच राप्ती अञ्चलका जिल्लाहरूमा दुई पार्टीले एकअर्कालाई सघाउने सहमति भएको हो।

डा बाबुराम भट्टराई, माओवादीका जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार मिलेर प्रलोपा बनेको हो। फागुन २१ मा सबै दलहरू एक्लाएक्लै निर्वाचनमा सहभागी छन्। आफ्ना उम्मेदवारहरू जिताउन दलहरुबीच क्षेत्रको अंक गणितका आधारमा तालमेल भइरहेका छन्। 

सहमति अनुसार रुकुम पूर्व र रुकुम पश्चिममा एमालेले प्रलोपाका उम्मेदवारहरूलाई समर्थन गर्नेछ। रुकुम पश्चिममा एमाले उम्मेदवार नन्दराम देवकोटाले उम्मेदवारी निष्क्रिय पार्दै प्रलोपाका उम्मेदवार जनार्दन शर्मालाई सघाउनेछन्।

रुकुम पूर्वमा एमालेका लीलामणि गौतमले प्रलोपाका उम्मेदवार सन्दीप पुनलाई समर्थन गर्ने सहमति भएको छ। यी दुवै क्षेत्रमा एमालेका कार्यकर्ता र शुभेच्छुकले प्रलोपाको चुनाव चिन्ह ‘आँखा’ मा मतदान गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

रुकुममा एमालेको साथ पाएबापत प्रलोपाले साबिक राप्ती अञ्चलका दाङ, प्युठान, रोल्पा र सल्यानमा एमाले उम्मेदवारहरूलाई सघाउने छन्। दाङ क्षेत्र नं. १ मा रेवतीरमण शर्मा, क्षेत्र नं. २ मा महासचिव शंकर पोखरेल र क्षेत्र नं. ३ मा घनश्याम पाण्डे एमालेका उम्मेदवार छन्।

प्युठानमा सूर्य थापा, रोल्पामा गोकुल घर्ती र सल्यानमा गुलाबजंग शाहलाई प्रलोपाले सघाउने सहमति भएको छ।

माघ ११, २०८२ आइतबार १६:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।