फिल्मको प्रचार शैली फेरिँदै, खुल्ला ठाउँमा ‘कुमारी’को ट्रेलर सार्वजनिक

फिल्मको प्रचार शैली फेरिँदै, खुल्ला ठाउँमा ‘कुमारी’को ट्रेलर सार्वजनिक

काठमाडौं : नेपाली फिल्मको प्रचारप्रसार शैली फेरिन थालेको छ। बन्द कोठाबाट अब खुल्ला स्थानमा सर्दै हजारौं दर्शकमाझ फिल्मका प्रचारका सामाग्री रिलिज गर्न थालिएको छ।

एक साताअघि एक महोत्सवको आयोजना गरेर फिल्म ‘आ बाट आमा’को गीत रिलिज गरिएको थियो। सोही शैलीलाई पछ्याउँदै यहीँ माघ २३ गते प्रदर्शनमा आउन लागेको फिल्म ‘कुमारी’को निर्माण पक्षले काठमाडौंको भृकुटीमण्डपमा आयोजित खुला कार्यक्रमबाट हजारौं दर्शकमाझ ट्रेलर सार्वजनिक गर्यो। 
 
खुला आकाशमुनि हजारौं दर्शक साक्षी राखेर प्रत्यक्षरूपमा ट्रेलर रिलिज गरिएको नेपाली फिल्म उद्योगमा यो पहिलो हुन सक्छ। ट्रेलर रिलिज कार्यक्रममा फिल्मका पाश्र्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ’केहर एन्ड द लुङा’को विशेष प्रस्तुति दिए। साथै ब्यान्ड ‘इस्त्रीज’ र ‘त्रिजा प्रदान एन्ड द टुकुचा’ले पनि आफ्नो गीतमार्फत दर्शकलाई झुमाए।
 
पछिल्लो समय यस फिल्मको गीत ‘डोको बुन्नु’चर्चामा छ। यसै गीतका गायक केहर सिंह लिम्बू र उनको ब्याण्डले यो गीत गाउँदा फिल्मका मुख्य कलाकार अबिषेक खड्का र आकृति राजभण्डारीले नाचेर दर्शकलाई मनोरञ्जन गराए। हजारौं दर्शकले फिल्मको गीत सँगसँगै गुनगुनाउँदा निर्माता महेन्द्र अधिकारीमा बेग्लै किसिमको चमक छायो।

दर्शकसँग प्रत्यक्ष साक्षात्कारमा आफूहरूलाई दर्शकले दिएको स्वागतले अत्यन्तै पुलकित बनाएको उनको भनाई छ। लभस्टोरीलाई केन्द्रमा राख्दै पारिवारिक सम्बन्ध, रोमान्स र मनोवैज्ञानिक कथामा निर्माण भएको यस फिल्मको ट्रेलरमा दुई पात्रबीचको प्रेम, सङ्घर्ष र जीवनका भावनात्मक मोडहरू दृश्यहरूलाई कथामार्फत भन्न खोजेको देख्न सकिन्छ।

फिल्ममा अबिषेक खड्का र आकृति राजभण्डारीका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ। छायाङ्कन सुसन प्रजापतिले गरेका छन् भने सम्पादन तथा कलर ग्रेडिङ सुप्रिम पराजुलीको, साउन्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ।

निर्देशक राउतले यसअघि फिल्म ‘आइ एम सरी’,‘नोभेम्बर रेन’ र ‘क्लासिक’,‘प्रसाद’,‘प्रकाश’,‘पुजार सार्की’,‘महाभोज’निर्देशन गरिसकेका छन्।  विनिश इन्टरटेन्मेन्टको ब्यानरमा भएको यस फिल्मलाई महेन्द्र अधिकारीले लगानी गरेका हुन्। साथै विकास सुवेदीको लेखन रहेको छ। यो फिल्मको गीत ‘डोको बुन्ने’,‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ जस्ता चर्चामा रहेता पनि फिल्मले भने हाइप बढाउन सकेको छैन। 
 

माघ ११, २०८२ आइतबार १४:३०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।