टिकटको लोभमा दल अदलबदल : लुम्बिनीमा सांसददेखि पूर्वमन्त्रीसम्मले फेरे पार्टी

टिकटको लोभमा दल अदलबदल : लुम्बिनीमा सांसददेखि पूर्वमन्त्रीसम्मले फेरे पार्टी

बुटवल : लुम्बिनी प्रदेशमा निर्वाचनको मनोनयन दर्ताकै दिन 'टिकट हत्याउने' होडबाजी चल्दा स्थापित नेताहरू वैचारिक निष्ठा त्यागेर नाटकीय रूपमा दल अदलबदलमा लागेको देखियो। पार्टीमा दशकौं बिताएका आफ्ना नेता-कार्यकर्तालाई पाखा लगाउँदै दलहरूले चुनाव जित्ने पात्रको खोजीमा नेताहरू आयात गरे। यसरी दल बदल्नेमा बहालवाला प्रदेश सभा सदस्यदेखि पूर्व मन्त्रीहरूसम्म छन्। 

रुपन्देही- ४ बाट सुनिता ठठेरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको एमालेले अन्तिम समयमा नेपाली काँग्रेसबाट उम्मेदवारका आकाक्षी प्रमोद यादवलाई टिकट दियो। लुम्बिनी प्रदेश सभाकी पूर्व सांसद ठठेरले उम्मेदवारी दर्ताको तयारी गरिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुनिताको टिकट खोसेर यादवलाई उम्मेदवार बनाए। यता कांग्रेसबाट टिकट पाउने सम्भावना नदेखेपछि यादव पनि एमालेतिर लागे। 

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका उनी सोही क्षेत्रबाट विजयी भएका थिए। तर, २०७९ सालको निर्वाचनमा भने उनी लोसपाका उम्मेदवार सर्वेन्द्र शुक्लासँग पराजित भए। मधेशको ‘कोर’ एरियामा विजयी हुन सक्ने आंकलनसहित यादवलाई भित्र्याएको चर्चा अहिले एमालेभित्र छ।

मनोनयन दर्ताको सम्मुखमा दल बदलेर उम्मेदवार बन्ने यादव एक्ला भने होइन। लुम्बिनी प्रदेशमा करिब आधा दर्जनले यस पटक दल बदलेर उम्मेदवार बनेका छन्। पार्टीमा लामो समय योगदान दिएकाहरूलाई पाखा लगाउँदै सीमित स्वार्थकै कारण दल बदल्न साथ उम्मेदवार बनाउनेमा काँग्रेस, एमाले, रास्वपा लगायत छन्।

नवलपरासी पश्चिम- १ मा जनता समाजवादी पार्टीबाट हृदयेश त्रिपाठी उम्मेदवार बनेका छन्। ०७० सालको संविधान सभा निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका उनी ०७९ सालको निर्वाचनमा जनता प्रगतिशील पार्टीबाट चुनाव लडे। उनै त्रिपाठी यस पटक जसपाबाट उम्मेदवार बने। गएको निर्वाचनमा एमाले र जसपाको समर्थनमा उम्मेदवार बने पनि काँग्रेस नेता विनोद चौधरीसँग उनी पराजित भएका थिए। उनी सो क्षेत्रबाट २०४८, २०५१ र २०५६ सालको आम निर्वाचन र २०६४ सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए।

मनोनयन दर्ताको दुई दिनसम्म जनता समाजवादी पार्टी (जसपा)का महासचिव रहेका मोहम्द ईस्तियाक राई अहिले एमालेबाट बाँके- २ मा उम्मेदवारी दिए। २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहेका उनी पछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा प्रवेश गर्दै केन्द्रीय सचिवसमेत बने। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा फोरमको उम्मेदवार बनेर बाँके- २ बाट विजयी भएका उनी २०७० सालको संविधानसभा चुनावमा भने पराजित भए। २०७४ को प्रतिनिधिसभा चुनाव जितेका उनी २०७९ को निर्वाचनमा हार बेहोरे।

कपिलवस्तुका पुराना काँग्रेस नेता वीरेन्द्र कनौडिया पनि निर्वाचनकै मुखमा दल परिवर्तन गरेर एमालेबाट कपिलवस्तु- ३ का उम्मेदवार बनेका छन्। काँग्रेसबाट एकल सिफारिस भएपनि टिकट नपाउने निश्चित भएपछि उनी एमाले प्रवेश गरे। ०७४ सालको प्रदेश सभा निर्वाचनमा कपिलवस्तु- ३ (२) बाट निर्वाचित उनी गएको निर्वाचनमा राप्रपा नेता जानकी यादवसँग पराजित भए। लामो समय रुख चुनाव चिन्हमा भोट मागेका उनी यस पटक सूर्य चुनाव चिन्ह बोकेर मतदाता माझ जादैछन्।

एमालेका पूर्व सांसद बृजेशकुमार गुप्ताले नेकपामा प्रवेश गरी कपिलवस्तु-२ मा उम्मेदवारी दर्ता गरे। उनी कपिलवस्तुबाट चार पटक सांसद भइसकेका नेता हुन। २०५६ सालमा राप्रपाबाट सांसदमा निर्वाचित भएका उनी २०६४ मा तमलोपाबाट संविधानसभा सदस्य बनेका थिए। २०७४ मा एमालेबाट सांसद बनेका उनी २०७९ मा पराजित भएका थिए।

कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल चुनावकै मुखमा दल बदलेर रास्वपाबाट उम्मेदवार बनेका छन्। उनी काँग्रेस छाडेर रास्वपाबाट नवलपरासी पश्चिम- १ बाट उम्मेदवार बनेका हुन्। त्यस्तै काँग्रेसका अर्का नेता विक्रमसिंह थापा पनि चुनावको मुखमा पार्टी परित्याग गरेर रास्वपाबाट कपिलवस्तु- २ मा उम्मेदवार बनेका छन्। 

नेपाल प्रहरीका पूर्व एसएसपी थापा २०७९ को प्रदेशसभा चुनावमा कपिलवस्तु- २ (१) बाट उम्मेदवार भएपनि पराजित भए। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाश रजौरिया पनि अन्तिम समयमा रास्वपा प्रवेश गरेर कपिलवस्तु- ३ मा उम्मेदवार बने। यस्तै, पूर्व राज्यमन्त्री ओमप्रकाश यादव जनमत पार्टीबाट रुपन्देही- ५ मा उम्मेदवार बनेका छन्। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका उनी चुनावको मुखमा पार्टी परित्याग गरेर जनमत बाट उम्मेदवार बनेका हुन। उनी २०६४ सालको संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट रुपन्देही- ३ बाट निर्वाचित भएका थिए।

प्रदेश सभाबाट राजीनामा, दल बदलेर चुनावमा

लुम्बिनी प्रदेश सांसद धर्मबहादुर चौधरीले राजीनामा दिएर बर्दिया- २ बाट उम्मेदवार बनेका छन्। नागरिक उन्मुक्ति पार्टीका सांसद एवं संसदीय दलको नेता रहेका उनले अहिले उज्यालो नेपाल पार्टी (उनेपा) बाट उम्मेदवारी दर्ता गराए। चौधरी गएको प्रदेशसभा निर्वाचनमा बर्दिया- २ (२) बाट निर्वाचित भएका थिए। 

त्यस्तै लुम्बिनी प्रदेश सभाका तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कन्हैया बानियाँले राजीनामा दिएर रास्वपाबाट रुपन्देही- ४ मा उम्मेदवार बनेका छन्। २०७९ सालको निर्वाचनमा बनियाँ रुपन्देही- ४ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। अहिलेको भूमिका फेर्नुपर्ने बेला भएकाले प्रदेशको जिम्मेवारी छोडेर संघतर्फ अग्रसर भएको उनले बताए।

त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी राजीनामा दिएर बाँके-१ बाट उम्मेदवार बनेकी छन्। उनी नेकपा त्यागेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट बाँके- १ मा उम्मेदवार बनेकी हुन। नेकपा सिद्धान्त र नीतिभन्दा पनि निश्चित व्यक्तिको आदेशमा चलेपछि आफूले प्रलोपा रोजेको उनको भनाई छ। 

राजनीतिक विश्लेषक लक्ष्मण श्रेष्ठका अनुसार चुनावको समयमा पार्टी परित्याग गर्नु भनेको आम कार्यकर्ता र जनताप्रति बेइमानी हो। उनले भनेका छन्, "यसले दलगत अनुशासनमाथि प्रश्न मात्र उठाएको छैन। पार्टीमा लामो समय काम गरेकाहरूलाई नैराश्यता हुने पनि काम भएको छ।"

माघ ११, २०८२ आइतबार १४:०६:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।