ओलीको टिप्पणीप्रति बिन्दा पाण्डेको असन्तुष्टि : 'टिकट पाउन विवेकको बन्धकी बस्न सकिएन'
काठमाडौं : एमाले नेता बिन्दा पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। आसन्न प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा दिएको एक अन्तर्वार्तामा अध्यक्ष ओलीले पाण्डेको 'आधार कमजोर' रहेको बताएपछि उनले सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिएकी हुन्।
ओलीले नेताहरू सुरेन्द्र पाण्डे र योगेश भट्टराई यस पटक चुनाव जित्ने अवस्थामा नरहेको र बिन्दा पाण्डेको कुनै आधारै नरहेको टिप्पणी गरेका थिए। साथै, गोकुल बाँस्कोटाले कार्यकर्ता पंक्तिमा विभाजन ल्याएको उनको दाबी थियो। जवाफमा पाण्डेले 'आधार' को मापन जनताको बीचमा जाने अवसर पाएपछि मात्र हुने बताइन्।
उनले भनेकी छन्, "अध्यक्ष कमरेडले यती चाही नभनेको भए हुन्थ्यो। आधार के छ जनताको बिचमा जाने अवसर पाएपछि परीक्षण हुने हो। २०७४ र २०७९ मा मैले निर्वाचन लड्छु भनेको थिए।" पाण्डेले आफूले यस पटक उम्मेदवारीका लागि कुनै माग नगर्ने कुरा लिखित रूपमै महासचिवमार्फत जानकारी गराइसकेको पनि खुलासा गरिन्।
उनले भनेकी छन्, "टिकट पाउने स्थापित आधार राजनीतिक पर्यटन (दलीय यात्रा वा शक्ति केन्द्र) र विवेकको बन्धकी बस्न सकिएन र अब पनि नसकिने भएकोले यस पटकदेखि यहाँसँग माग पनि नगर्ने कुरा लिखितै महासचिवमार्फत जानकारी गराएकै थिए। पत्र भए च्यासलमा अड्कियो जस्तो छ।"
अध्यक्ष ओलीसँग आफ्नो कुनै व्यक्तिगत मतभेद नरहेको प्रष्ट पार्दै पाण्डेले भनिन्, "पुनस्मरण गराउन चाहन्छु अध्यक्ष कमरेडसँग मैले कुनै मत बजाएकी हैन र छैन। सुशासनको पक्षमा कुरा उठाउँदा यहाँसँग मत मिल्दैन भने माफ गर्नु होला।" ओलीको अभिव्यक्तिपछि एमालेभित्र असन्तुष्टि चुलिएको छ। टिकट वितरणको मापदण्ड र आन्तरिक लोकतन्त्रका विषयमा फेरि बहस सिर्जना गरेको छ।
माघ ९, २०८२ शुक्रबार १८:०९:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।