बदलिएको चेतनाअनुसार कांग्रेसमा परिवर्तन आयो : सभापति थापा
बद्लिनै पर्छ भन्ने पुकारको सम्मान स्वरूप काङ्ग्रेसमा परिवर्तन आएको हो : सभापति थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा देखिएको परिवर्तन नागरिकको चाहना र समयको मागप्रतिको सम्मान भएको बताएका छन्। शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकपश्चात् सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले कांग्रेस अब पुरानै ढर्रामा चल्न नसक्ने र जनताको 'पुकार' अनुसार बदलिनै पर्ने बाध्यतालाई आत्मसाथ गरेको उल्लेख गरे।
थापाले कांग्रेसले अब बदलिएको समय र जनताको बदलिएको चेतनाअनुसार आफूलाई परिमार्जन गर्नै पर्ने आवश्यकता औँल्याए। उनले भने, "यो कुर्सीमा बस्न सजिलो छ, तर जिम्मेवारी पूरा गर्ने कुरा अत्यन्त कठिन छ। हामीले नागरिकहरूको कुरा सुनेको हो, कांग्रेस बदलिनै पर्छ भन्ने त्यो आह्वानलाई, त्यो पुकारलाई हामीले सम्मान गरेको हो, त्यो गर्नुपर्छ। हाम्रो संस्थापक नेता र यो पार्टीले हामीलाई सिकाएको कुरा यही हो। हामीले निर्वाचनको लागि उम्मेदवारीहरू चयन गर्ने काम गर्नुपर्यो, सजिलो थिएन।"
यस्तै, उनले देश र राज्य ठिक तरिकाले नचलेको भन्दै नागरिकहरूमा सुशासनको भोक र भ्रष्टाचारको दलदलबाट नेपाल निस्किनु पर्यो भन्ने कुराको छटपटी रहेको बताए। उनले भने, "नागरिकहरूमा सुशासनको ठूलो भोक छ, भ्रष्टाचारको दलदलबाट नेपाल निस्किनुपर्यो भन्ने कुराको ठूलो छटपटी छ, युवाहरूमा नेपालभित्र अवसर पाउने व्यवस्था होस् भनेर ठूलो आशा छ, यो देश राम्रो तरिकाले चलोस् भन्ने छ। जसरी देश र राज्य चलिरहेको छ। ठिक तरिकाले चलिरहेको छैन।"
पार्टीका स्थापनाकालीन मूल्य र मान्यतालाई दृढ, परिष्कृत गरेर जोगाएर लाने काम अबको कांग्रेसले गर्ने भन्दै नयाँ युगको माग अनुसार देशलाई सम्हालेर सुशासनको काम अगाडि बढाउने पनि उनको भनाई छ। उनले भने, "वर्तमान कांग्रेस हिजोको कांग्रेसभन्दा फरक हो भनेर भन्दै गर्दा हिजो सबै कुरा खराब थियो भन्ने होइन, पुरानो सबै खराब हुँदैन। त्यसकारण हाम्रो पार्टीका स्थापनाकालीन मूल्य र मान्यतालाई दृढ भएर परिष्कृत गरेर जोगाएर लाने काम अबको कांग्रेसले गर्छ। तर नयाँ युगको नयाँ चेतना छ, नयाँ माग छ। त्यही अनुसार यो कांग्रेसले यो देशलाई सम्हाल्ने पनि छ र सँगसँगै सुशासनको काम अगाडि बढाउने पनि छ।"
माघ ९, २०८२ शुक्रबार १७:४२:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।