सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ। सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

बैठकमा उपसभापति विश्वप्रकाश शर्माले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्ताव पेस गरेका थिए भने अर्का उपसभापति पुष्पा भुसालले उक्त प्रस्तावलाई समर्थन गरेकी थिइन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले शुक्रबार नै पदवहाली गरेका थिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराइसकेका छन्। पार्टीले आगामी निर्वाचनमा स्पष्ट दृष्टिकोणसहित मतदातामाझ जान ६ बुँदे आधारहरू प्रस्तुत गर्दै सातौं बुँदामा थापाको उम्मेदवारीलाई समेटेको छ।

निर्वाचनको मिति नजिकिँदै गर्दा अन्य प्रमुख दलहरूले पनि आफ्ना उम्मेदवार घोषणा गरिसकेका छन्। एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले वालेन्द्र शाह 'बालेन'लाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका छन्। प्रमुख दलहरूले निर्वाचन अगावै प्रधानमन्त्रीको उम्मेदवार तय गरेसँगै फागुन २१ को चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।

माघ ९, २०८२ शुक्रबार १६:०४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।